काभ्रे । धुलिखेल नगरपालिका रोजगार सेवा केन्द्रद्वारा आयोजित श्रमको सम्मान, राष्ट्रको अभियान कार्यक्रम नगरप्रमुख अशोक ब्याञ्जुको आतिथ्यतामा शुक्रबार सम्पन्न भएको छ ।
कार्यक्रममा उपप्रमुख निराजन जङ्गम, धुलिखेल नगरपालिका–११ अध्यक्ष एवं आर्थिक बिकास समिति संयोजक नारायणप्रसाद बडाल लगायतको आतिथ्यता रहेको थियो । उपस्थितलाई स्वागत प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासिनीले गर्नुभएको थियोे । धुलिखेलमा हालसम्म २ सय ४१ जना प्रधानमन्त्री रोजगार कार्यक्रममा सूचीकृत भएको कुरा कार्यक्रम संयोजक सम्झना नेपालले जानकारी दिनुभयो । उक्त कार्यक्रममा ७ जना श्रमिकलाई सम्मान गरिएको थियो ।

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर धुलिखेल नगरपालिका रोजगार सेवा केन्द्रद्वारा श्रमिकहरुलाई सम्मान गरिएको हो । श्रमको महत्व, श्रमको सम्मान तथा श्रमका बारेमा भइरहेका ब्यवस्थाका सन्दर्भमा जानकारी गराउँदै वर्षभरी उत्कृष्ट श्रम गरिरहेका श्रमिकहरुलाई नगरपालिकाले विविध विद्यामा सम्मान गरेको थियो । कार्यक्रमकै अवसर पारेर वडा नम्वर १ का दिपेन्द्र मिजार, वडा नम्वर ३ की रीता थापा मगर, वडा नम्वर ४ की पुजा तोलाङ्गे, वडा नम्वर १० का श्याम मिजार, वडा नम्वर ११ की दुर्गामाया तामाङ र वडा नम्वर १२ की रीता मिजारलाई सम्मान पनि गरिएको थियो ।

कार्यक्रममा नगरप्रमुख अशोक ब्याञ्जुले श्रमिकहरुको सम्मान गर्दै श्रम र श्रमिकको सम्मानले मात्रै राष्ट्र निर्माणमा योगदान पुग्ने बताउनुभयो । धुलिखेल नगरपालिकाले श्रमका क्षेत्रमा गरिरहेका कार्यहरुका बारेमा जानकारी गराउँदै उहाँले रोजगार सिर्जना हुने गरी नगरपालिकाले होटल तथा पर्यटन क्षेत्रमा गरिरहेको योगदान, शिक्षा, स्वास्थ्य र पूर्वाधार लगायतका क्षेत्रमा श्रमका बारेमा जानकारी गराउनुभयो । कार्यक्रममा रोजगार विज्ञ विद्यासागर पाण्डेले प्रशिक्षण दिँदै कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया