निर्माण व्यवसायीसँग भएका सम्झौता आगामी वर्षको बजेटमा सम्बोधन हुनुपर्छः अध्यक्ष सिंह

368 Shares

काठमाडाैं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सिमेन्ट, डण्डीलगायत निर्माण सामग्रीमा भइरहेको कालोबजारीमा सरकारले संरक्षण गरेको आरोप लगाउनुभएको छ । 

पोखरामा भएको नेपाल निर्माण व्यवसायी संघ कास्कीको ३१ औँ साधारण सभामा बोल्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । उहाँले सरकारले सामाजिक सञ्जाललगायतका विभिन्न मिडियाको सम्लग्नतामा निर्माण सामग्रीमा कालोबजारी गरेको बताउनु भयो । उहाँले निर्माण उद्योगीहरुले उत्पादन कटाएर निर्माण सामग्रीको मूल्य बढाएको बताउनु भयो । 

सरकारको संलग्नतामा वृद्धि गरिएको सिमेन्ट तथा डण्डीको मूल्यलाई महासंघले विभिन्न निकायमा उजुरी गरेर घटाउन सफल भएको बताउँदै उहाँले सरकारले निर्माण व्यवसायीहरुसँग विगतमा गरेको ६ खर्बभन्दामाथिका सम्झौताको स्रोत जुटाउन नसक्दा व्यवसाय समस्याग्रस्त बनेको बताउनु भयो । 

व्यवसायीसँग गरिएका सम्झौता बमोजिम आगामी आर्थिक वर्षको बजेटमा सम्बोधन हुनुपर्ने उहाँकाे भनाइ छ । स्रोत जुटाउन नसकिने योजनालाई सार्वजनिक खरिद ऐनअनुसार अन्त्य गर्नुपर्ने बताउँदै अध्यक्ष सिंहले विभिन्न समस्याको सकसमा रहेको निर्माण उद्योग व्यवसाय निर्माणसम्बन्धी ऐन कानूनहरु परिवर्तन नगरेसम्म विकास सम्भव नरहेको बताउनु भयो ।