कश्मीर आक्रमणमा मारिएका सुदीपको शव परिवारको जिम्मा लगाइयो, आजै अन्त्येष्टि

236 Shares

काठमाडौँ । भारतको जम्मु कश्मीरको वैसरण उपत्यकामा आतंकवादी आक्रमणमा परी ज्यान गुमाएका बुटवल–११ का २७ वर्षीय सुदीप न्यौपानेको शव परिवारलाई जिम्मा लगाइएको छ।

मंगलबार दिउँसो बन्दुकधारीले गोली हानेर हत्या गरेका सुदीपको शव भारतको नयाँदिल्लीबाट लखनउसम्म हवाईमार्गबाट र त्यहाँबाट बेलहिया नाकासम्म सडक मार्ग हुँदै नेपाल ल्याइपुर्याइएको थियो । बिहीबार बिहानै शव परिवारको जिम्मा लगाइएको छ । 

सुदीपको शव आजै बुटवल–११ मनकामनापथस्थित घरमा लगिएको छ । उनको आजै अन्त्येष्टि गरिने बताइएको छ । सुदीप आमा रिमाकला, बहिनी सुष्मा र ज्वाईं युवराज काफ्लेसहित शनिबार बुटवलबाट कश्मिरको मिनी स्वीटरजल्याण्डसमेत भनिने वैसरण उपत्यकामा घुम्न गएका थिए । 

त्यहाँ पुगेर घुमफिरमा रमाइरहेका बेला मंगलबार दिउँसो एक्कासी बन्दुकधारी आतंकवादीले गोली हानेर सुदीपको ज्यान लिएका थिए । सुदीपसँगै गएकी आमा रिमाकला, बहिनी र ज्वाइँले भागेर ज्यान जोगाउन सफल भएका थिए । भाग्ने क्रममा रिमाकला सामान्य घाइतेसमेत भएकी थिइन् । सुदीपको शव ल्याएर आमा, बहिनी र ज्वाइँ बुटवल आएका छन् । आमाबुबाको सम्बन्ध बिच्छेद भएपछि सुदीप आमा र बहिनीसँग बुटवल–११ कालीकानगरमा बस्दै आएका थिए ।