काठमाडाैं । अमेरिका-युक्रेनबीच साउदीमा वार्ता जारी रहँदा त्यसअघि युक्रेनले रसियाको राजधानी मस्कोमा ठूलो मात्रामा ड्रोन आक्रमण गरेको छ। जवाफमा रसियाले पनि किभमा मिसाइल प्रहार गरेको छ। युक्रेनको आक्रमणमा परी दुई जनाको मृत्यु भएको रोयटर्सले जनाएको छ।
मंगलबार बिहान युक्रेनले मस्कोमा अहिलेसम्मकै ठूलो ड्रोन आक्रमण गरेको हो। अमेरिकी अधिकारीहरू साउदी अरेबियामा युक्रेनी प्रतिनिधिमण्डलसँग तीन वर्षदेखि जारी युद्धको अन्त्यबारे छलफल गर्न तयारी गरिरहँदा युद्ध भने झन चर्कि रहेको छ।
यसैबीच, रूसी सेनाले कुर्स्क क्षेत्रमा हजारौँ युक्रेनी सैनिकलाई घेराबन्दी गर्ने प्रयास गरिरहेका छन्। युद्धभरि नै रूसले युक्रेनी राजधानी कीभमाथि पटक-पटक आक्रमण गर्दै आएको छ। मंगलबार मात्र कीभलाई लक्षित गरी एक ब्यालिस्टिक क्षेप्यास्त्र र १२६ वटा ड्रोन प्रहार गरिएको युक्रेनी अधिकारीहरूले बताएका छन्।
रूसको विशाल सैन्य शक्तिसँग सामना गर्न युक्रेनले तेल प्रशोधन केन्द्र, विमानस्थल तथा प्रारम्भिक चेतावनी दिने राडार स्टेसनहरूमा बारम्बार ड्रोन आक्रमण गर्दै आएको छ। मस्कोका मेयरले आक्रमणलाई अहिलेसम्मकै ठूलो भएको बताएका छन्। रूसी सांसदद्हरुले जवाफमा हाइपरसोनिक मिसाइल प्रहार गर्न सरकारलाई सुझाव दिएका छन्।
मस्कोका मेयर सेर्गेई सोब्यानिनले मंगलबारको आक्रमणलाई मस्कोमा युक्रेनले गरेको अहिलेसम्मकै ठूलो ड्रोन हमला भएको बताए। मस्को र यसको आसपासको क्षेत्रमा कम्तीमा २१ मिलियन जनसंख्या रहेको छ, जसले यसलाई युरोपकै ठूलो महानगरीय क्षेत्रहरूमध्ये एकका रुपमा रहेको छ । आक्रमणमा परी रूसको ठूला मासु उत्पादक कम्पनीमध्ये एक रहेको मिरातोर्गका दुई कर्मचारी मस्कोमा भएको ड्रोन आक्रमणका क्रममा खसेको भग्नावशेषले च्यापिएर मारिएको रुसले जनाएको छ। १८ जना घाइते भएका छन्। रूसी अधिकारीहरूका अनुसार घाइते भएकामध्ये तीनजना बालबालिका छन्, जबकी आवासीय भवनहरू पनि हमलाको चपेटामा परेका छन्।
मस्को क्षेत्रका गभर्नर आन्द्रेई भोरोब्योभले च्यातिएका झ्यालहरू भएको ध्वस्त अपार्टमेन्टको तस्वीर सार्वजनिक गरेका छन् । तर, सहरमा कुनै ठूलो त्रास वा अफ्ठ्यारोपन देखिएको छैन। यात्रुहरू सामान्य रूपमा काममा गएका छन्। रूसी उड्डयन नियामक निकायका अनुसार आक्रमणपछि मस्कोका चारैवटा विमानस्थलहरूमा उडानहरू स्थगित गरिएको थियो, तर पछि पुनः सञ्चालनमा ल्याइएको छ। कतिपय उडानहरू अन्य सहरहरूमा मोडिएको बताइएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा शान्ति स्थापनाको चाहना व्यक्त गरे पनि युद्धको मैदानमा तनाव बढ्दो छ। रूसी सेनाले कुर्स्क क्षेत्रमा वसन्तकालीन आक्रमण सुरु गरिसकेको छ भने युक्रेनले बारम्बार रूसी भूमिभित्र गहिरो ड्रोन हमला गरिरहेको छ।एजेन्सी