मण्डनभेगका विकासका पर्याय हुनुहुन्थ्याे 'हरिप्रसाद पौडेल'

IATA
  • ज्ञानमणि नेपाल कालाेटाेपी

कुन्तावेसी । काभ्रेपलाञ्चाेककाे मण्डनभेगका हरेकजसाे विकास निर्माणकाे शुरुवात गर्नुभएका र मण्डनका ताराकाे रुपमा चिनिनुहुने स्वर्गिय 'हरिप्रसाद पौडेल' काे अर्धकदको प्रतिमा शनिबार कुन्तावेसीमा अनावरण गरिएको छ ।

NECO
एक विशेष समारोहका बीच नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पौडेलको प्रतिमाको अनावरण गर्नुभएकाे थियाे । पूर्व क्षेत्र नं १ अन्तर्गत काभ्रे–सिन्धु क्षेत्रका नक्षत्र, प्रजातान्त्रिक सेनानी, प्रखर राजनीतिज्ञ, समाजसेवी पौडेलको प्रतिमा अनावरणमा मण्डनदेउपुरका सयौं नागरिककाे उपस्थिती थियो । विसं १९९३ सालमा जन्मिनुभएका उहाँ तत्कालिन महादेवस्थान मण्डनका प्रधानपञ्चसमेत हुनुहुन्थ्याे ।

प्रतिमा अनावरण कार्यक्रममा उपस्थित अधिकांशले हरिप्रसाद पौडेलकाे याेगदानकाे चर्चा गरेका थिए । उहाँ देशमा प्रजातन्त्र स्थापनाका लागि लड्नुभयो। राजनीतिका माध्यमबाट जीवनभर यस क्षेत्रको सेवामा होमिनुभयो। उहाँ प्रखर राजनीतिज्ञ मात्र हाेइन, सुपरिचित समाजसेवी पनि हुनुहुन्थ्यो । लोकले रुचाएका अध्यात्मवादीसमेत हुनुहुन्थ्यो ।

हरिप्रसाद पौडेलकाे राजनीतिक यात्रा नेपाली काङ्ग्रेसका माध्यमबाट शुरू भएको थियो । समाजसेवामा उहाँले कुनै क्षेत्र छोड्नुभएन । कृषि/सिंचाई तथा नदी नियन्त्रण, भूमिसुधार, सहकारी विकास, खेलकुद, स्वास्थ्य, वन, वातावरण तथा बस्ती विकास, खानेपानी, विद्युतीकरण, शिक्षा, पुस्तकालय, प्रहरी चौकी, सडक, पुल तथा यातायात, धर्मसेवा समितिमा उहाँले योगदान पुर्याउनुभयो । त्यस्तै, उमाशह शिक्षालय, भवानी प्राथमिक स्कूल, डेडीथुम्का स्कुल, नर्मदाको उमा विद्या मन्दिर, पौवामा राधाकृष्ण घनश्याम स्कुलको स्थापना र विकासमा संलग्न रहनुभयो । धेरैतिरका सार्वजनिक जग्गाको संरक्षणमा लागिपर्नुभयो ।

यस क्षेत्रको विकास निर्माणमा उहाँ आफ्नो घर-परिवार बिर्सेर लाग्नुभयो । यस ठाउँको उन्नतिमा कसरी काँध थाप्न सकिन्छ भनेर हरदम चिन्तित रहने पाैडेलले २०७७ सालमा संसार छाड्नुभयो । अन्तिम अवस्थासम्म उहाँ यही क्षेत्रको मायामा लुटपुष्टिनुभएको थियो । काभ्रे-सिन्धु क्षेत्रले पनि उहाँलाई भरपूर माया गर्दै आएको थियो।

हरिप्रसाद पौडेल आफ्ना ठूलाेबुबा नन्दप्रसाद र पीताम्बर उपाध्याय नेपालको प्रेरणाले राजनीतिमा लाग्नुभएको थियो। नन्दप्रसाद जिम्वाल हुनुहुन्थ्यो । त्यतिबेला जिम्वालले सरकारका तर्फबाट कुत र तिरो आदि उठाउने गर्थे । नन्दप्रसाद २०१८ सालमा महादेवस्थान गाउँ पञ्चायतमा उपप्रधानपञ्च हुनुभयो, उहाँ २०२३ सालमा प्रधानपञ्चमा उठ्नुभयो ।

पाैडेललाई पीताम्बर उपाध्याय नेपालले २०१७ सालमा काठमाडौँ पुऱ्याई तरुण दलको सदस्यता दिलाइदिनुभयो । त्यसपछि तनमन दिएर राजनीतिका माध्यमले समाजसेवामा लाग्नुभयो । २०४३ सालमा यस क्षेत्रको प्रधानपञ्च हुनुभयो । २०४९ सालमा नेपाली कांग्रेसका तर्फबाट काभ्रे जिल्ला विकास समितिको १३ नम्बर इलाकाको सदस्य हुनुभयो भने ०५४ सालमा काभ्रे जिल्ला विकास समितिकाे सभापतिमा उम्मेद्वार हुनुभयाे ।

पाैडेललगायतकै पहलमा आँसीखोलाबाट धाईटारसम्म सिंचाइका लागि कुलो ल्याइएको हो । त्यतिबेला भातभान्साका लागि पानीको अभाव पनि त्यही कुलोले टार्ने गरेको थियो । त्यसअघि  गाउँमा एक गाग्री पानी लिन एक किलोमिटर टाढा आँसीखोला पुग्नुपर्थ्यो। पछि २०१८ सालमा' उहाँहरूले गाउँमै एउटा कुवा बनाउनुभयो ।

पाैडेलले धाईटारमा २०१५ सालमा भवानी प्राथमिक विद्यालय खोल्नुभयो । २०३६ सालसम्म त्यस स्कुलको व्यवस्थापन समितिको अध्यक्ष हुनुहुन्थ्यो । डेडीथुम्का स्कुललाई अनेकोटबाट महादेवस्थानमा भवन बनाएर सार्नमा पनि उहाँको योगदान रह्यो । पछि उहाँ त्यसको व्यवस्थापन समितिको अध्यक्ष पनि हुनुभएको थियो । डेडीथुम्कामा अहिले उच्च माविसम्म पढाइ हुने गरेको छ । यसभेगका अन्य स्कुलहरूको विकास-विस्तारमा समेत पाैडेलको भूमिका ठूलाे रहेकाे थियाे ।

कुन्ताबेंसीमा २०४८ सालमा समाज सेवा समूह खोल्नमा पाैडेलले नै अगुवाइ गर्नुभएको थियो । स्थानीय बासिन्दाको आर्थिक गर्जो टार्नु यसको प्रमुख उद्देश्य थियाे । यसकाे अध्यक्षको एउटा कार्यकाल पनि पाैडेलले नै सम्हाल्नुभएको थियो । सामाजिक-धार्मिक काममा, मन्दिर र पाटीपौवाको जीर्णोद्वारमा सहयोग हुन सकोस् भनेर उहाँहरूले धर्मसेवा समिति स्थापना गर्नुभएको थियो । समितिलाई आर्थिक स्रोत जुटाउन २०५४ सालमा कश्यपेश्वर महादेवकाे मन्दिरमा महारुद्री लगाउनुभयो ।

कश्यपेश्वर महादेवस्थानको नयाँ भवन बनाउन पाैडेल निर्माण समितिको अध्यक्ष बन्नुभयो । गुठी संस्थानलाई गुहारेर, स्थानीयरूपमा चन्दा उठाएर महादेवस्थानमा तामाको जलप लगाए‌को छानो हालियो । सत्तल नयाँ बनाइयो । पाैडेलको अर्को अविस्मरणीय योगदान सार्वजनिक जग्गाको संरक्षणमा रह्यो । मण्डन भेगमा प्रशस्तै सार्वजनिक जग्गा छ। पहिलेदेखिकै हिसाब गर्ने हो भने त धेरै नै पुग्ला । कब्जा भएका, कब्जा गर्न खोजिएका कति जग्गालाई पहिलेकै अवस्थामा ल्याउन पाैडेलले निकै जनासँग दुश्मनी नै मोल्नुपरेको थियो ।हरिप्रसाद पौडेलले आफ्नो जीवनकालमा गर्नुभएका असंख्य राजनीतिक-सामाजिक योगदानमध्ये यी केही उदाहरण हुन् ।

उहाँका सम्पूर्ण कामहरूको विस्तृत चर्चा परिचर्चा उहाँकै जीवनी पुस्तक 'मेरो मण्डन' मा गरिएको परिवारले जनाएकाे छ। पत्रकार पारसप्रकाश नेपालले सम्पादन गर्नुभएको यो पुस्तक आउँदो भदौमा पाैडेलको ९० औं जन्मजयन्तीमा सार्वजनिक गर्ने योजना रहेकाे बताइएकाे छ। उहाँ बितेर जानुभयाे तर उहाँले गरेका थुप्रै कामहरु मण्डनभेगमा सधैं रहेछन् ।