काभ्रे कांग्रेसमा कुनै पनि विवाद नरहेको सन्देश पाएँ : इन्द्र बानियाँ (भिडियोसहित)

IATA
  • ज्ञानमणि नेपाल कालोटोपी

बनेपा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्र बानियाँले बाहिर हल्ला भएजस्तो काभ्रे कांग्रेसमा कुनै विवाद नरहेको आफूले पाएको बताउनुभएको छ ।

शुक्रबार बनेपामा नेपाली कांग्रेस, प्रदेशसभा क्षेत्रीय कार्यसमिति, क्षेत्र नम्बर २ (ख) काभ्रेको दोस्रो प्रदेशसभा क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै नेता बानियाँले यस्तो बताउनुभएको हो । ठूलो पार्टीमा निर्वाचनमा टिकट पाउन प्रतिश्पर्धा हुनु स्वभाविक भएको बताउँदै उहाँले त्यसपछि विवाद र आन्तरिक कलह कायमै रहन नहुने उल्लेख गर्दै कांग्रेस एकढिक्का रहेर आगामी चुनावमा जानुपर्नेमा जोड दिनुभयो ।

NECO
काभ्रे कांग्रेसमा विवाद रहेको र निर्वाचनमा असहयोग भएको भन्दै दुई वर्षअघि सम्पन्न निर्वाचनपछि पार्टीले कांग्रेसका तीन जना शीर्ष नेतालाई कारबाही गरेकोतर्फ संकेत गर्दै नेता बानियाँले शुक्रबारको कार्यक्रममा उपस्थित शीर्ष नेताहरु एउटै मञ्चमा बसेको देख्दा आफूलाई जिल्लामा अब कुनै विवाद नरहेको प्रष्ट भएको बताउनुभयो । कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना) प्रमुख अतिथि रहेको कार्यक्रममा कांग्रेसका जिल्ला सभापति तीर्थ लामा, केन्द्रीय सदस्यत्रय शिव हुमागाईं, मधु आचार्य र गणेश लामा, कांग्रेस वागमतीका महामन्त्री एवं प्रदेशसभा सदस्य कन्चनचन्द्र वादे, पाँचखाल नगरपालिकाका मेयर महेश खरेल, कांग्रेसका शीर्ष नेताहरु इन्द्रमणि अधिकारी, अच्युत पौडेललगायत उपस्थित हुनुहुन्थ्यो ।

पार्टीमा नेतृत्वको अपेक्षा धेरैको हुनु स्वभाविक रहेको बताउँदै उहाँले आगामी चुनावमा कांग्रेस एकढिक्का भएर जाने र कसैले पार्टीको नियमबाहिर गए कारबाही हुने प्रष्ट पार्नुभयो । कांग्रेस देशमा भएका सबै राजनीतिक परिवर्तनको नेतृत्वकर्ता भएपनि पार्टीभित्रको आन्तरिक किचलो अन्त्य नभएसम्म जनताको मन जित्न नसक्ने उहाँको भनाइ थियो । फरक प्रसंगमा बानियाँले माओवादी केन्द्रलाई अलग राखेर संविधान संशोधन सम्भव नहुने बताउँदै जित्नेले हार्नेलाई पनि सँगसँगै लैजानुपर्नेमा जोड दिनुभयो । प्रचण्ड अस्थिर राजनीतिका नेता भएको आरोप लगाउँदै अहिले एमालेसँग गठबन्धन गर्नुपरेको उहाँको भनाइ थियो ।

कार्यक्रमकी प्रमुख अतिथि महालक्ष्मी उपाध्यायले राजनीति भनेको समाजसेवा भएकाले नेता कार्यकर्ताले पदका लागि मात्र राजनीति गर्न नहुनेमा जोड दिनुभयो । उहाँले काभ्रे कांग्रेसमा केही विवाद र असन्तुष्टि भए पार्टीभित्रै बसेर समाधान गर्न सल्लाह दिनुभयो ।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य शिव हुमागाईंले हामीले यसअघि कति काम गर्न सक्यौं वा कति सकेनौं त्यसको मूल्यांकन गरेर आगामी कार्यक्रम तय गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले पार्टीमा आफूले ४७ वर्ष त्याग गरेको उल्लेख गर्दै आफूले पदका लागि कहिल्यै राजनीति नगरेको बताउनुभयो । उहाँले काभ्रे कांग्रेसको नेतृत्वमा आफूले लामो समय बिताएकाले पार्टीमा भएका कमीकमजोरीको जिम्मा आफैंले लिने बताउँदै पार्टीमा कुनै विवाद हुननहुनेमा जोड दिनुभयो । काभ्रे कांग्रेसमा अब अभूतपूर्व एकता हुनुको विकल्प नभएको उहाँको भनाइ थियो । व्यक्तिको मान्छे बनाएर पार्टी कमजोर हुने हुँदा कार्यकर्तालाई पार्टीको मान्छे बनाउन उहाँले आग्रह गर्नुभयो ।

केन्द्रीय सदस्य मधु आचार्यले सबै मिलेर अघि बढ्दा कांग्रेस कहिले पनि कमजोर नहुने बताउँदै आगामी निर्वाचनसम्म पार्टीमा केही कमजोरी भए सच्याएर अघि बढ्ने बताउनुभयो । वागमती प्रदेशका महामन्त्री कन्चनचन्द्र वादेले नेता कार्यकर्ताले दिएका सुझावलाई आत्मसाथ गर्दै आफू अघि बढ्नेमा जोड दिनुभयो । पार्टीमा आफ्नो ४० वर्षेसमय अवधिमा सधैं पार्टीको हितमा काम गरेको जिकिर गर्दै उहाँले आदर्श र सिद्धान्त बाहिर गएर पार्टी बलियो बन्न नसक्ने बताउनुभयो । काभ्रे कांग्रेस सभापति तीर्थ लामाले जिल्लाका सबै विकासमा कांग्रेसको योगदान उच्च रहेकाले यसको मूल्यांकन जनताले गर्ने बताउनुभयो । उहाँले पार्टीले अझै धेरै काम गर्न बाँकी रहेकाले सबै मिलेर अघि बढ्ने उल्लेख गर्नुभयो । 

पाँचखालका मेयर महेश खरेलले पार्टीमा बाहिरी तत्वले ठूलो प्रहार गरेको अवस्था भएकाले कांग्रेस एकजुट हुनुको विकल्प नरहेकोमा जोड दिनुभयो । कार्यक्रममा प्रदेश २ (ख) का तीस वटा वडाका नेता कार्यकर्ता एवं जिल्लाका सबैजसो शीर्ष नेताहरुका साथै पालिका प्रमुख, उपप्रमुख, पालिका सभापति, उपसभापति, पार्टीबाट निर्वाचित वडाध्यक्षलगायतको उपस्थिती रहेको थियो । उपस्थित नेता कार्यकर्ताहरुलाई श्याम भट्टराई तथा राजु सरकारलगायतले प्रशिक्षण पनि दिनुभएको थियो । कार्यक्रम प्रदेश क्षेत्र नम्बर २ (ख) का सभापति रामहरी श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो । (इन्द्र बानियाँको सम्बोधनको भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला ।)

तस्बीरहरुः ज्ञानमणि नेपाल कालोटोपी