अन्तर्वार्ताः नक्सापास नभइ बनाइएका घरहरुको अभिलेखिकरण हुँदैछः पोषण लामिछाने (प्रमुख प्रशासकीय अधिकृत, बनेपा)

IATA

बनेपा । निजामती क्षेत्र आफैंमा शक्तिशाली क्षेत्र हो । जसमा नागरिकको पनि धेरै नै विश्वास रहँदै आएको पाइन्छ । कतिपय अवस्थामा कर्मचारीले काम नगरिदिँदा समस्यामा परियो भन्ने जनगुनासो पनि नआएका भने होइनन् । नागरिकका कामहरु समयमै गर्नु, नमिलेका समस्या समाधान गर्नु र सल्लाह, सुझावहरु दिनु लगायतका कामको दायित्व पनि कर्मचारीवर्गमा छन् । यसै सन्दर्भमा यसपटक हामीले बनेपा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पोषण लामिछानेसँग यस्तै समसामयिक विषयमा कुराकानी गरेका छौं । प्रस्तुत छ , न्यूजहाउस नेपालका लागि वरिष्ठ उपसम्पादक ज्ञानमणि नेपाल कालोटोपीले उहाँसँग गरेको कुराकानीको सम्पादित अंशः

NECO
निजामति क्षेत्रमा यहाँको प्रवेश कहिलेदेखि हो ?

म ०५७ सालको असोजदेखि यो क्षेत्रमा प्रवेश गरेको थिएँ । मेरो आफ्नै तत्कालिन गाविस टुकुचा नालामा सचिवको जिम्मेवारीबाट काम शुरु गरेको हुँ । प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी लिएको बनेपा मेरो दोस्रो पालिका हो । यसअघि म सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकामा कार्यरत थिएँ ।

लामो समयको अनुभव लिनु भएको रहेछ, त्यतिबेला र अहिले काम गर्न सजिलो / असजिलो के हुने रहेछ ?

सबै काम मिलेर गर्ने हो । त्यतिबेला र अहिले प्रविधिको प्रयोग बढेको छ । यसबाट काम गर्न सजिलो हुन्छ । शुरुमा त जुनसुकै काम पनि अलि गाह्रो नै हुन्छ तर विस्तारै सबै काम सहज हुने रहेछ ।

बनेपा नगरपालिकामा अधिकांश वडाहरुको समस्या नक्सापासको देखिन्छ । नक्सा र फिल्डमा जग्गा तलमाथि हुने समस्याले नागरिकले हैरानी पाइरहेको गुनासो छ नि । यो कसरी भयो ?

हामीले नगरको नीतिभित्र रहेर काम गर्नुपर्छ । नियमभन्दा बाहेक रहेर जो कसैले पनि काम गर्न मिल्दैन । प्रक्रिया पुगेर आएका फाइलहरु कुनै पनि रोकिएका छैनन् । यस विषयमा जग्गा किन्दा नै नागरिकले आफूले किन्दै गरेको जग्गाको क्षेत्रफल नापेर लिनुपर्छ । अब कतिपय अवस्थामा आफूखुशी घर बनाउने गर्दा पनि समस्या आउने गरेको छ । घर बनाउनु पहिले नै वडा र नगरमा जानकारी गराउनु हुन म सबैलाई अनुरोध गर्दछु । समस्या देखिए आफूले निर्णय गर्नुभन्दा पनि  जनप्रतिनिधीहरुको रोहबरमा काम अघि बढाउनु हुन पनि अनुरोध गर्दछु । 

नगरपालिकामा निर्माण भएका अधिकांश भवनहरुले निर्माण सम्पन्न प्रमाणपत्र पाएका छैनन् । जसले गर्दा नगरको राजश्वमा पनि प्रभाव परेको छ । यसतर्फ चाहिँ नगरले के सोचेको छ नि ?  

मैले अघि पनि भनिसकें , प्रक्रिया पुगेका घरहरुलाई हामीले सम्पन्नको प्रमाणपत्र दिइरहेका छौं । प्रक्रिया नै नपुगेका विषयमा हो रोकिएको । कानुनतः मिलेसम्म हामीले पनि सहज बनाइदिन्छौं । कर्मचारीले कानुन विपरित काम गर्न सकिँदैन, त्यस्तो समस्यामा छलफल गरेर काम गर्नुपर्ने हुन्छ । तैपनि यो समस्या धेरै नै छ । अब विभिन्न कारणले नक्सापास नगरि बनाइएका घरहरुको नगरपालिकाले अभिलेखीकरणका लागि प्रक्रिया शुरु गरेको छ । कार्यपालिकाबाट यसको निर्णय नै भइसकेको छ । अनि अर्को कुरा नक्सापास गर्नु र निर्माण सम्पन्न लिनु भनेको बैंकबाट ऋण लिँदा मात्र हो, अरुबेलामा चाहिँदैन भन्ने भ्रम पनि छ नागरिकमा । यसले पनि यो समस्या बढेको हो । अनि कतैकतै चाहिँ नक्सा र घरको बनावट फरक पनि छ । त्यस्तोमा त हामीले न नक्सापास गर्न सक्छौं न सम्पन्नको प्रमाणपत्र दिन नै ।

तपाईंले अभिलेखिकरण गरिँदैछ त भन्नुभयो, यो भनेको कस्तो हो बताइदिनुस न ?

यो भनेको चाहिँ वडा र नगरमा कति वटा घर बनेका छन् भन्ने रेकर्ड राखिने प्रक्रिया हो । नगरभित्र उसको घर बनेको छ भन्ने प्रमाणपत्र दिइने हो । यो काम अब छिट्टै शुरु हुन्छ ।

अलिकति फरक प्रसंग, अधिकांश पालिकाहरुमा प्रमुख र उपप्रमुख फरकफरक पार्टीका हुँदा काम गर्न समस्या आएको पाइन्छ । बनेपाको हकमा के छ अवस्था ?

तपाईंले भनेको ठिक कुरा हो । कतिपय पालिकामा यस्तो समस्या छ तर बनेपामा अहिलेसम्म त्यस्तो समस्या छैन । सबै जनप्रतिनिधीहरुले आआफ्नो ठाउँबाट कर्मचारीलाई सहयोग गरिरहनुभएको छ । म बनेपा नगरपालिकामा आएको धेरै भएको छैन तैपनि यहाँ त्यस्तो समस्या भोगेको छैन । यहाँ काम गर्ने वातावरण पनि राम्रो छ ।

यसवर्षको वर्षाले काभ्रे जिल्ला बाढीपीडित जिल्लाको रुपमा परिणत भयो । बनेपा पनि यसबाट अछुतो छैन । यहाँका प्रभावितहरुको लागि नगरले के गर्दैछ ?

तपाईंले भन्नुभएको जस्तै बनेपामा पनि ४ जनाको बाढीपहिरोले मृत्यु भएको छ । करिब ५० घर पूर्ण क्षति भएको अवस्थामा नगरले आफ्नोतर्फले क्षतिपूर्ति र राहात वितरण गरेको छ । प्रदेश र संघीय सरकारले निर्णय गरेको राहत वितरणमा पनि नगरले सहजिकरण गरिरहेको छ । सबै काम मिल्दैछन्, हामी काम गर्दैछौं, केही समय लाग्छ ।

बनेपा बजार हरेक वर्षायाममा डुबानमा पर्छ, यसको दीर्घकालिन समाधानका लागि नगरले के गर्दैछ ?

तपाईंले भने जस्तो सधैं त डुबानमा पर्ने होइन, कहिलेकाहिँ चाहिँ समस्या नै हुन्छ । माथिल्लो भागतिरबाट लेदोसहित बगेर आउने र त्यो सतहमा आएपछि थुप्रिने गर्दा विस्तारै खोलाको सतह पनि अग्लो भइरहेको छ । जसले गर्दा बजारका घरहरुमा पानी छिर्ने गर्छ । यसको समाधानका लागि अहिले मेयरसाब पनि लागिरहनु भएको छ । अहिले अरनिको राजमार्ग विस्तारको काम पनि भइरहेको छ । पहिलेभन्दा सडक उच्च बनाइँदैछ । सँगै खोलाको भागमा गहिरो बनाएर लेदो भरिएको भागहरु पन्छाउने काम पनि हुँदैछ । आगामी दिनमा यस्ता समस्या विस्तारै समाधान हुनेमा म विश्वस्त छु ।

यतिबेला देशका २४९ वटा पालिकामा प्रमुख प्रशासकीय अधिकृत छैनन् । तपाईं यहि पदमा हुनुहुन्छ, के समस्याको कारण के ?

यो एकदमै ठूलो समस्या हो । यसको मूख्य कारण भनेको अहिले स्थानीय तहहरुमा काम गर्न अलि ठूलै चुनौतीहरु छन् । कतिपय कर्मचारीहरु ती चुनौतीहरुको सामना गर्न तयार हुँदैनन् । अधिकांश पालिकाहरुमा काम गर्न नीति नियमहरु पनि बनिसकेका छैनन् । यी मात्र होइन, अन्य सानासाना समस्याले पनि देशका कुनाकुनाका पालिकाहरुमा काम गर्न समस्या भएकाले प्रमुख प्रशासकीय अधिकृतको अभाव देखिएको हो । धेरैजसो कर्मचारीको मनसाय शहर केन्द्रीत हुने हुँदा पनि विशेषगरि ग्रामिण भेगमा यस्तो समस्या देखिएको हो जस्तो लाग्छ ।

स्थानीय तहहरुमा बजेट खर्च नहुने र भ्रष्टाचार तथा बेरुजु भइरहेको समाचारहरु आइरहेका छन् । यो किन र कसरी होला ?

बजेट खर्च नभएको भन्न चाहिँ मिल्दैन, धेरैजसो खर्च भइरहेका छन् । भ्रष्टाचारको विषय देशका धेरैजसो क्षेत्रमा व्याप्त छ । यो एउटा दीर्घरोग नै बनेको छ । यसको समाधान गर्न देशको नीति नै फेरिनु पर्ने अवस्था छ । देशको निर्वाचन प्रणाली नै सुधार गर्नु पनि आवश्यक देखिन्छ । बेरुजुको विषयमा भने पालिकाहरु आफैं सतर्क भएर बेरुजु नहुने गरि काम गर्नुपर्ने आवश्यकता देखिन्छ ।

बनेपा नगरपालिकामा समस्याग्रस्त सहकारीको संख्या पनि बढ्दै गइरहेको छ । यसको नियन्त्रणका लागि नगरले के गर्दैछ ?

सहकारीको समस्या पनि देशकै ठूलो समस्या बनिरहेको अवस्था छ । काभ्रे जिल्ला र त्यसमा पनि बनेपाको कुरा गर्ने हो भने हाम्रोमा केही उजुरी पनि आइरहेका छन् । हामीले नगरबाट एउटा छानबिन टोली बनाएर यथार्थ पत्ता लगाउँदै कसरी समस्या समाधान गर्ने भन्नेमा हामी तल्लिन छौं । समस्याग्रस्त भेटिएका सहकारीलाई प्रक्रियागतरुपमा कारबाही हुन्छ ।

कुराकानीका लागि समय दिनुभयो, धेरै धेरै धन्यवाद ।

तपाईं र तपाईंको संचार माध्यमलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु । 

ज्ञानमणि नेपाल कालोटोपी
९ माघ २०८१, बुधवार
यस खबरलाई शेयर गर्नुहोस