काठमाडौं । यूएईमा जारी यू-१९ एसिया कपमा आफ्नो अन्तिम खेलमा नेपालले अफगानिस्तानलाई १ विकेटले पराजित गरेको छ।
अफगानिस्तानले दिएको १२४ रनको लक्ष्य पछ्याएको नेपालले ४१ ओभर ३ बलमा लक्ष्य भेट्टायो । नेपालका लागि नरेन साउदले सर्वाधिक २६ रन बनाए । अर्जुन कुमालले २१, अभिषेक तिवारीले १३, आकाश त्रिपाठीले ९, मायन यादव १, सन्तोष यादव ७, नरेन भट्ट २, रोशन विश्वकर्मा ९, उत्तम थापामगर २ रनमा आउट हुँदा कप्तान हेमन्त धामी २२ रनमा अविजित रहे । बलिङमा अफगानिस्तानका अल्लाह गजन्फर र खातिर स्टानिकजाईले ३-३ विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको अफगानिस्तान ३५ ओभर ४ बलमा १२३ रनमा समेटिएको थियो । अफगानिस्तानका फैखल खानले ५२ रन जोड्दा अन्य ब्याटरले रन बनाउन सकेका सकेनन् ।
बलिङमा नेपालका युनिस ठकुरी र सन्तोष यादवले ३-३ र अभिषेक तिवारी र कप्तान हेमन्त धामीले २-२ विकेट लिए । नेपाल पहिलो खेलमा श्रीलंकासँग ५५ रन र दोस्रो खेलमा बंगलादेशसँग ५ विकेटले पराजित भएको थियो ।