एजेन्सी । पाकिस्तानका अर्थमन्त्री मुहम्मद औरङ्गजेबले जलवायु संरक्षणका लागि पाकिस्तानलाई सहयोग गर्न एशियाली विकास बैङ्क (एडिबी) को ५० करोड अमेरिकी डलर ऋणको लागि कृतज्ञता व्यक्त गर्नुभएको छ।
पाकिस्तानी विदेशमन्त्रीले वाशिङ्टनमा एडिबीका अध्यक्ष मासात्सुगु आसाकावासँग भेट गर्नुभयो । भेटमा उहाँले पाकिस्तानको विकास एजेन्डा तथा देशमा प्राकृतिक प्रकोपका लागि जलवायु संरक्षण र सुरक्षा कार्यक्रमका लागि ५० करोड अमेरिकी डलर नीति–आधारित ऋणको स्वीकृतिका लागि बैङ्कको समर्थनको प्रशंसा गर्नुभयो ।
भेटमा दुवै अधिकारीले पाकिस्तानको राजस्व बढाउने, क्षेत्रीय सहयोगलाई बढावा दिने र इस्लामाबादमा एडिबीको कार्यालयलाई समयमै पूरा गर्ने सुनिश्चित गर्नेलगायतका सहयोगका प्रमुख क्षेत्रहरूमा छलफल गर्नुभएको थियो । अर्थमन्त्रीले एडिबीको कन्ट्री पार्टनरशिप फ्रेमवर्क छिट्टै पूरा हुने आशा व्यक्त गर्नुभयो । एडिबी बोर्डले अक्टोबर २९ मा हुने बैठकमा नयाँ ऋणका लागि पाकिस्तानको अनुरोधलाई विचार गर्नेछ ।
यसैबीच पाकिस्तानले जलवायु परिवर्तनको विनाशकारी प्रभावसँग लड्न अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) बाट थप दुई अर्ब अमेरिकी डलर माग गरिरहेको छ । यसअघि आइएमएफले आफ्नो बाह्य ऋण तिर्न सक्ने पाकिस्तानको क्षमतामा चिन्ता व्यक्त गरेको र यसलाई नाजुक भनेको थियो ।
यसअघि सेप्टेम्बर २५ मा आइएमएफको कार्यकारी बोर्डले पाकिस्तानको करिब सात अर्ब अमेरिकी डलर बराबरको ३७ महिने विस्तारित कोष सुविधा (इएफएफ) सम्झौतालाई अधिकृत गरेको थियो । एडिबीको स्थापना सन् १९६६ मा भएको थियो र यसमा ६८ सदस्य छन् ।