काठमाडौं । आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिँदैछन् । विश्वासको मतको लागि कांग्रेस -एमाले सरकारले दुई तिहाइ मत प्राप्त गर्ने भएको छ । विद्यमान प्रतिनिधिसभामा रहेको २ सय ७५ मध्ये प्रधानमन्त्रीको पक्षमा दुई तिहाइ मत प्राप्त हुने निश्चित भएको हाे ।
प्रतिनिधिसभामा नेपाली कांग्रेसको ८८ र एमाले ७९ सिट छ। जसमा एमालेका एक जना सभामुख र एक जना निलम्बित छन् । एमालेको ७७ मत हुन्छ । प्रतिनिधिसभामा कांग्रेस र एमालेको १ सय ६५ मत हुन्छ ।
सरकारमा सहभागी भएको जनता समाजवादी पार्टीको ७ र लोसपाको ४ सिट छ । जसपा र लोसपा गरेर १ सय ७४ हुन्छ । उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल र जनमत पार्टीले पनि विश्वासको मत दिने निर्णय गरिसकेका छन् । जसपा नेपालको ५ र जनमतको ६ सिट छ । यो समेत गर्दा १ सय ८४ मत हुन्छ । २ सय ७५ को दुई तिहाइ १ सय ८४ हुन्छ । ओलीले दुई तिहाइ मत पाउने निश्चित भएको छ ।
तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको विपक्षमा मत हालेको राप्रपाले भने अहिलेसम्म निर्णय गरिसकेको छैन । प्रतिनिधिसभामा राप्रपाको १४ सिट छ । नागरिक उन्मुक्ति पार्टीलगायत साना दल र स्वतन्त्र सांसदको निर्णय पनि आएको छैन । नाउपाको ४, राष्ट्रिय जनमोर्चा, आम जनता पार्टी र नेमकिपाको १/१ सिट छ भने २ स्वतन्त्र सांसद छन् ।
ओलीकाे विपक्षमा माओवादी केन्द्र, रास्वपा र नेकपा एस
नेकपा माओवादी केन्द्रसहित प्रतिपक्षी तीन दलले वर्तमान सरकार संविधानको कमजोर जगमा टेकेर बनेको निष्कर्ष निकालेको छ । तीन दलले अहिलेको अवस्थामा कुनै पनि हालतमा प्रधानमन्त्रीलाई विश्वासको मत दिन नसक्ने निष्कर्ष पनि निकालेको छ । प्रतिनिधिसभामा माओवादीको ३२, रास्वपाको २१ र नेकपा एसको १० सिट छ । विश्वासको मतको विपक्षमा ६३ मत पर्ने भने निश्चित भएको छ। राष्ट्रिय जनमोर्चाले पनि विपक्षमा मत हाल्न सक्छ भने नेमकिपाले कतै पनि मत नहाल्न सक्छ। अन्नपूर्णबाट