यात्रा डायरी : विकासका थुप्रै अनुभव समेट्न बाँकी काभ्रेको ‘डाँडापारी’ (फाेटाेफिचर)

Kmc
  • ज्ञानमणि नेपाल कालोटोपी

बेथानचोक । जेठ २८ गते पहिलोपटक काभ्रे जिल्लाको बेथानचोक गाउँपालिकाको भ्रमणमा पुगियो । ढुंखर्कबाट हाम्रो टोली नारायणस्थानडाँडा हुँदै च्याम्राङवेसी र झिंगेडाँडासम्मको यात्रामा प्रस्थान गर्यो । साथमा हुनुहुन्थ्यो उद्योग वाणिज्य संघ काभ्रेका सदस्यद्वय हरिचन्द्र अधिकारी, राजन ढकाल, पत्रकार दाइ प्रदीप केसी, शिक्षक नवराज तिमल्सिना, गाउँपालिकाका प्रवक्ता एवं वडानम्बर १ का वडाध्यक्ष मुधुसुदन तिमल्सिना र पालिकाका अध्यक्ष भगवान अधिकारी लगायत स्थानीयवासी र अन्य जनप्रतिनिधिहरु ।

NLG InsuranceNECO
करिब ४ घण्टाको यात्राका क्रममा हामीले पायौं राजधानीसँगै जोडिएर पनि काभ्रे जिल्लाले विकासका थुप्रै कामहरु गर्न बाँकी छ । वर्षौंदेखि निर्माणाधिन यहाँका सडकहरु पूरा भएका छैनन् । जहाँका स्थानीयहरु बिरामी हुँदा पनि घण्टौंको यात्रापछि बल्ल अस्पताल पुग्नु पर्ने अवस्था छ । समस्याका हजारौं चाङहरुका बीच स्थानीय जनप्रतिनिधिहरुको सक्रियता बयान गर्न योग्य लाग्यो । पालिका अध्यक्ष भगवान अधिकारी, वडानम्बर २ का वडाध्यक्ष पुरुषोत्तम तिमल्सिना र प्रवक्ता मधुसुदन तिमल्सिनालगायत स्थानीयवासीहरु बिहानैदेखि कहाँ कस्तो काम भइरहेको छ भनेर निरिक्षण र अवलोकनमा लाग्ने गरेका पायौं । विकासका कामहरु विस्तारै अघि बढीरहेको र नागरिकहरु पनि खुशी भएका पाइयो । यहाँ पालिकाले आफ्नै प्रयासमा थुप्रै कामहरु शुरु गरिएको र पूरा हुन बाँकी रहेका छन् । प्रदेश र केन्द्र सरकारले यहाँको स्थानीय सरकारको काममा ध्यान दिएर यहाँको सडक निर्माणमा सक्रियता देखाउन जरुरी छ । यहाँको सडकलाई पक्की बनाउन मात्र पाए पनि हजारौं नागरिकले राहत पाउने थिए ।

ढाकाको कपडा बुन्ने तालिम सम्पन्न
बेथानचोकमा विगत ६५ दिनदेखि ढाकाको कपडा बुन्ने एडभान्स लेभलको तालिम शुरु भएको रहेछ । सो तालिम जेठ २८ गते सम्पन्न भएको छ । ढुंखर्कमा आयोजित एक कार्यक्रमका बीच तालिम सम्पन्न गरिएको थियो । उत्पादनको सीप व्यक्तिलाई रोजगारी, समाजलाई सुविधा र चिनारी नारासहित शुरु भएको तालिममा १७ जना महिला सहभागी थिए । उपाध्यक्षसँग महिला कार्यक्रम अन्तर्गत तालिममा सहभागी महिलालाई प्रशिक्षकद्वय भवानी सापकोटा र अमृता सापकोटाले प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा प्रशिक्षार्थीहरुले आफूले सिकेको सीपलाई व्यवहारमा उतार्न सक्षम हुने अनुभव सुनाए । तालिमसँगै अब व्यवसाय संचालन गर्न सकिने तर त्यसका लागि पालिकाले सहजीकरण गरिदिनु पर्नेमा उनीहरुको जोड थियो । प्रशिक्षार्थी सीता थोकरले महिलाहरुलाई आत्मनिर्भर बनाउन यस्ता तालिमले धेरै नै सहयोग गर्ने बताइन् । त्यस्तै दीपा तामाङले घरायसी सबै काम सकेर पनि ढाकाका कपडा बनाउन सकिने र यसका लागि पालिकाले तान र उत्पादन भएका कपडाको बजारीकरणका लागि सहयोग गर्नुपर्ने बताइन् ।

कार्यक्रममा काभ्रे उद्योग वाणिज्य संघका सदस्य हरिचन्द्र अधिकारीले महिलाहरुलाई आफूले सक्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । पालिका उपाध्यक्ष तारा राना तिमल्सिनाले पालिकाले आगामी दिनमा पनि यस्ता कार्यक्रममा सहयोग गर्ने बताइन् । बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले घरेलु उद्योगहरु पालिकामा दर्ता गरेर संचालन गर्न महिलाहरुलाई अनुरोध गरे । दर्ता गरेर उत्पादनमा लागेका व्यवसायीलाई पालिकाले सधैं सहयोग गर्ने उनको भनाइ थियो । कार्यक्रममा प्रशिक्षार्थीहरुलाई अध्यक्ष र उपाध्यक्षले प्रमाणपत्र वितरण गरेका थिए । कार्यक्रममा उपस्थित अतिथीहरुलाई तालिममा सहभागी महिलाले नै बुनेका ढाकाका टोपी लगाएर सम्मान गरिएको थियो । यो तालिमबाट यहाँका महिला आत्मनिर्भर हुन सक्रिय रहेका पाइयो ।

सडकको अवस्था दयनीय 
बनेपाबाट हाम्रो टोली ढुंखर्कका लागि जाँदै गर्दा सडकको अवस्था ठिकै थियो । कतै कच्ची, कतै पिच गरेर भत्किएको त कतै ग्राभेल गरिएका सडकहरु नेपालका सबै सडकका विशेषता नै हुन् । हामीले पनि यस्तै सडकको यात्रा गर्यौं, जसलाई सामान्य नै मान्नु पर्छ । ढुंखर्कमा ढाकाको कपडा बुन्ने तालिमको समापनसँगै साथीहरुले च्याम्राङवेसी जाउँ, त्यहाँ पनि एउटा उपयोगी कार्यक्रम छ भन्नुभयो । हामीले फर्कन भ्याइने भए जाने भन्ने मनसाय राख्यौं । २ घण्टामा कामै सकेर फर्कन सकिने साथीहरुले बताउनुभयो । हामीले त्यसो हो भने जाउँ भन्ने प्रस्तावमा हो मा हो मिलायौं । म पहिलोपटक त्यसभेगमा जाँदै गरेकाले बाटोको अवस्थाको बारेमा खासै जानकारी थिएन ।

करिब २ बजेतिर हामी ढुंखर्कबाट हिँड्यौं । नारायणस्थानडाँडा पुगेपछि डाँडापारी क्षेत्रमा प्रवेश हुने रहेछ । नयाँ ठाउँमा साथीहरुसँग जान पाउँदा म निकै उत्साहित थिएँ । थाहा नपाएका कुराहरु सोध्दै जाँदा यो गर्मीमा पनि एउटा निकै चिसो ठाउँमा पुगियो । जहाँ अधिकांश समय कुहिरो लाग्ने रहेछ । बाटै नदेखिने गरि कुहिरो लागेको देखेर अचम्म लाग्यो तर जति तल झर्दै गइयो त्यति नै गर्मी अनुभव भयो । हामी च्याम्राङवेसी पुग्दा करिब ४ बजिसकेको थियो । अब गन्तव्य आइपुग्यो भनेर हामी मख्ख परेका थियौं तर कहाँ हुनु र ? त्यहाँबाट करिब १२ किलोमिटर जति बाँकी नै रहेछ । हाम्रो गन्तव्य झिंगेडाँडा भन्ने ठाउँमा रहेछ । दुरीको हिसाबले त्यति धेरै टाढा त लागेन तर भौगोलिक बनावटले भने निकै दुर्गम ठाउँ जस्तो लाग्यो । तर पनि कच्ची नै भएपनि सडकको सुविधा, खानेपानीको सुविधा र विजुलीको व्यवस्थाले गर्दा भने हामीले धेरै समस्या त झेलेनौं तर त्यहाँ नै बसेर हरेक दिन बिताउनु पर्ने स्थानीयहरुलाई भने निकै समस्या छ जस्तो लाग्यो ।

म सानै हुँदा यहाँको सडकको बारेमा सुनेको थिएँ । आज त्यही सडकमा यात्रा गरिरहँदा नयाँ अनुभव भइरहेको थियो । वरिपरि अग्ला डाँडा, कतिपय ठाउँमा भीर, अलिकति मात्र खुट्टा खुस्कियो भने कहाँ पुगिएला पत्तो नै थिएन । एकदमै साँघुरो सडक, पक्की भन्ने अनुभव त कहाँ पाउनु र भर्खरै मात्र कतै कतै ढलान गरिएको, कतै नालीहरु बनाइएका दृष्यहरुले भने राज्यको उपस्थिती यहाँ पनि पुगेछ जस्तो लागिरहेको थियो । करिब २ किलोमिटर पर कुनै गाडी आइरहेको देखियो भने अर्को गाडीलाई साइड दिने ठाउँको खोजी गर्दै रोकिएर बस्नुको कुनै विकल्प थिएन त्यहाँ । सधैं यही सडकमा सवारी चलाउने चालकलाई त यी कुरा थाहा हुन्छ नै तर नयाँ मान्छे पहिलोपटक जाँदैछ भने चाहिँ समस्या हुने अवस्था रहेछ । आरोह अवरोह पार गर्दै हामी ५ बजे झिँगेडाँडा पुग्यौं ।

साथीहरु भन्दै हुनुहुन्थ्यो, यो सडक हुँदै करिब ३ घण्टामा हामी तालढुंगा पुग्न सक्छौं । यो सुनेर मलाई लाग्यो, साँच्चै आफ्नै जिल्ला पनि यति धेरै विकट रहेछ, हामीले त बनेपा, पनौती, धुलिखेल, नमोबुद्ध, पाँचखाल, मण्डनदेउपुर, रोशी, भुम्लुलाई मात्र हेरेर काभ्रे जिल्लाको मूल्यांकन गरिरहेका रहेछौं । बाँकी पालिकाहरु, बेथानचोक, खानीखोला, महाभारत, चौंरीदेउराली, तेमाललाई त बिर्सिएछौं । त्यहाँका नागरिकका पीडा भुलेछौं, त्यहाँ हुनु पर्ने विकासका कामलाई त कहिले नै आवाज उठाएनछौं । हामीले यतिका वर्षसम्म के पत्रकारिता गरेछौं भनेर मैले त्यहाँ पुगेर महसुस गरें ।

अहिले पनि यहाँको सडकको अवस्था निकै दयनीय छ । कोही बिरामी हुँदा एम्बुलेन्स त कहाँ हो कहाँ, कोही स्ट्रेचर र डोकामा बिरामी बोकेर स्वास्थ्यचौकी लैजानुपर्ने त कोही गाडीमा सकसपूर्ण तरिकाले यात्रा गर्नु पर्ने बाध्यता रहेछ । पहुँच हुने कोहीले हेलिकोप्टर मगाएर बिरामी अस्पताल लैजान्छन् भन्ने पनि केही स्थानीयहरुले सुनाए । स्थानीय जनप्रतिनिधिहरुले यहाँका समस्या पालिकासम्म पुर्याउँछन् । पालिकाले केही बजेट त छुट्याउँछ तर त्यो वालुवामा पानी हालेजस्तै मात्र हुने गरेको पाइयो । त्यहाँ पुगेर मलाई हरेक दिन करोडौं भ्रष्ट्राचार गर्ने नेताहरुको याद आयो । संसदमा झैझगडा गर्ने सांसद, मन्त्रीको याद आयो । अनि याद आयो निकम्बा बनेको र गफमै हराएको सरकारको पनि ।

अहिलेको यो सुविधासम्पन्न हुनु पर्ने समयमा पनि काभ्रेको डाँडापारी, कोशीपारी लगायतका नागरिकहरु कहिलेसम्म समस्यामा रहने ? के उनीहरु भोटबैंक मात्र हुन् ? कि स्वार्थका लागि मात्र उनीहरुलाई प्रयोग गरिन्छ ? यी अनुत्तरित प्रश्नहरुको जवाफको खोजीमा लाग्न जरुरी छैन र ?

चट्याङमुक्त बन्यो ‘झिंगेडाँडा’
बेथानचोकको च्याम्राङवेसी, झिंगेडाँडा, छिमेकी जिल्ला ललितपुरका वागमती, महांकाल, सँगैका खानीखोला लगायतका क्षेत्रहरुलाई साँच्चै नै प्रकृतिले पनि ठगेको अनुभव मलाई त्यहाँ पुगेपछि भएको हो । अझ नागरिकका कुराहरु सुनेपछि त अनौठो लाग्यो । यी क्षेत्रमा हरेक वर्ष प्राकृतिक विपत्तीको रुपमा रहेको चट्याङ पर्ने गरेको रहेछ । जसले त्यहाँ जनधनको निकै ठूलो क्षति पुग्ने गरेको स्थानीयहरुको अनुभव छ । अझ बेथानचोक–१ च्याम्राङवेसीस्थित झिंगेडाँडामा त चट्याङले हरेक वर्ष की मान्छे की गाईवस्तुको मृत्यु हुने गरेका घटनाले समाचारमा प्राथमिकता पाउँथे । तर विगत २ वर्षदेखि यहाँ यस्तो समस्या छैन ।

पालिकाले यस गाउँमा चट्याङ प्रतिरोधी प्रविधिको जडान गर्न सहयोग गरेपछि स्थानीयहरुले ठूलो राहतको महसुस गरेको स्थानीयवासी गोपालकृष्ण सापकोटाले बताए । चट्याङ नियन्त्रणका लागि यहाँ अर्थिङ प्रविधि जडान गरिएको छ । ठाउँ ठाउँमा टावरहरु राखेर गाउँमा सुरक्षित विद्युत जडानका लागि स्थानीय युवाहरुलाई पालिकाले परिचालन गरेको छ । जसले गर्दा अहिले यहाँ चट्याङ नै पर्दैन । यहाँ बेथानचोक गाउँपालिकाले लाइटनिङ प्रोटेक्सन सिस्टम प्रोग्राम संचालन गरेर विल्डिङ इलेक्ट्रिसियन तालिम दिएको हो । यसलाई सहजीकरण गरेका थिए, इलेक्ट्रिक र इलेक्ट्रोनिक्स क्षेत्रका विज्ञ नारायणप्रसाद सापकोटाले । उनकै सल्लाह र सहयोगले यस क्षेत्रलाई चट्याङमुक्त क्षेत्र बनाउन सकिएको हो । यहाँका करिब १५० घर अहिले चट्याङमुक्त भएका छन् ।
 


पालिकाका अध्यक्ष भगवान अधिकारी, उपाध्यक्ष तारा राना तिमल्सिना, वडा नम्बर १ का वडाध्यक्ष मधुसुदन तिमल्सिनालगायत स्थानीयवासीहरुले यस कार्यक्रमका लागि निकै ठूलो योगदान दिएका थिए । तालिम समापन कार्यक्रममा उनीहरुले प्राकृतिक विपत्ती बाजा बजाएर नआउने भन्दै न्यूनिकरणका उपाय अबलम्बन गर्न सकेमा यसबाट हुने क्षति कम गर्न सकिने बताए । पालिका अध्यक्ष अधिकारीले पहिलोपटक आफूहरुले गरेको प्रयासले सफलता पाएको भन्दै यसमा सहयोग गर्ने सबैलाई धन्यवाद दिए । उपाध्यक्ष तारा राना तिमल्सिनाले आगामी दिनमा स्थानीयहरुको जिउधनको सुरक्षामा पालिकाले गर्न सक्ने कुनै पनि सहयोगका लागि आफूहरु तयार रहेको बताइन् । स्थानीयवासी गोपालकृष्ण सापकोटाले आफ्नो गाउँमा चट्याङबाट हुने क्षति रोक्न सक्नु चमत्कार नै भएको बताए । चट्याङकै कारण यहाँका घरघरमा जडान गरिएका टेलिभिजन, बत्तीहरु, पंखाहरु जल्ने समस्या भएको र केही स्थानीयहरु बसाइँ नै सरेर गइसकेको अवस्थामा यो प्रविधिले आफूहरुलाई ठूलो राहत मिलेको उनको अनुभव छ । यसरी बेथानचोकमा गरिएको यो प्रविधि जडान देशकै नमुना भएको छ । यसलाई अन्य पालिकाले पनि अनुशरण गर्न सके चट्याङबाट हुने क्षति कम गर्न सकिन्छ ।

कृषिको उर्वर भूमि ‘डाँडापारी’ 
काभ्रेको डाँडापारी क्षेत्र प्राकृतिकरुपमा विकट भए पनि यहाँ कृषि उत्पादनको राम्रो सम्भावना छ । यहाँ अन्य क्षेत्रमा फल्ने जस्तै धान, मकै, कोदो, फापरको उत्पादन त हुन्छ नै । यसका अतिरिक्त पशुपालन र कफी तथा अम्रिसो खेतीको उत्पादन पनि राम्रो हुन्छ ।

 यहाँका बारीका डिलहरुमा अम्रिसोले ढाकेको छ । कफीले त यहाँका किसानको आर्थिक अवस्था उकास्न निकै ठूलो भूमिका खेलेको छ । पालिकाले पनि यहाँका किसानका लागि सहयोग गरिरहेका छन् । यस भेगमा एउटै किसानले एकसय वटासम्म गाईभैंसी पालेका छन् । स्थानीय मदानी डेरीले दुध संकलन गरेर किसानलाई राहत दिइरहेको छ । तर किसानहरुले उत्पादन गरेको कृषि उपजको उचित मूल्य भने पाएका छैनन् । यसतर्फ सम्बन्धित वडा, पालिका र स्वयं किसानले नै सोच्नु पर्ने बेला आएको छ ।

पर्यटकीय गन्तव्य ‘डाँडापारी’
काभ्रेको डाँडापारीमा साबिकका १० वटाभन्दा बढी गाविसहरु छन् । बेथानचोक, खानीखोला, महाभारत हालका गाउँपालिका हुन् । प्राकृतिकरुपमा विकट जस्तो लागे पनि यहाँ पर्यटकका लागि आकर्षित गर्ने झरना, नदी, पहाड, हरियाली जंगललगायत त छन् नै, यहाँको हावापानीले पनि पर्यटकलाई लोभ्याउँछ । ठाउँ ठाउँमा खुलेका होमस्टे, होटल र लजले बस्नका लागि सहजता प्रदान गरिरहेका छन् । धार्मिक हिसाबले पनि महत्वपूर्ण यस क्षेत्रलाई सम्बन्धित पालिकाहरुले पनि आफ्ना नीति तथा कार्यक्रमहरुमा पर्यटनलाई प्राथमिकतामा राखेको जनाएका छन् । विस्तारै विकासमा बामे सर्दै गरेको यो भेगलाई राज्यले पनि प्राथमिकतामा राख्न जरुरी छ ।

बसाइँ सराइ बढ्दो 
पछिल्ला केही वर्षयता डाँडापारी क्षेत्रमा स्थायी बसोबास गर्नेहरुको संख्या घटेको छ । रोजगारीका लागि भन्दै कतिपय विदेश गएका छन् भने कोही काठमाडौं उपत्यका लगायतका शहर गएपछि गाउँको जनसंख्या घटेको हो । यहाँ अहिले एकदशक पहिलेभन्दा आधाले जनसंख्या घटेको पाइएको छ । विद्यालयहरुका भवन छन् पढ्ने विद्यार्थी थोरै मात्र छन् । विगत एक दशक अघि स्थानीय भैरव माविमा पाँच सय विद्यार्थी अध्ययन गर्थे भने अहिले त्यहाँ ११६ जना विद्यार्थी अध्ययन गरिरहेको विद्यालयले जनाएको छ । गाउँमा काम गर्ने जनशक्ति कमै मात्र छन् । केटाकेटी र बृद्धबृद्धाहरु मात्र देखिन्छन् । मेलापर्व, उत्सव, विवाह, जन्ती, मलामी जाने मान्छेको पनि अभाव छ । यसले आगामी दिनमा थप समस्या हुन सक्नेतर्फ स्थानीयहरु चिन्तित छन् ।

‘डाँडापारिलाई काभ्रेको कर्णाली भनिरहनु पर्दैन’
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले अब काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत र खानीखोला गाउँपालिकाले काभ्रेको कर्णाली भनिरहनुपर्ने स्थिती नरहने अवस्था बनाउने बताएका छन् । काभ्रेको विकट डाँडापारिस्थित महाभारत गाउँपालिका–१ र ८ को सिमाना सोला भञ्ज्याङमा बिहीबार पूर्ण विद्युतीकरण घोषणा कार्यक्रममा उनले महाभारतलाई पूर्ण विद्युतीकरण भएको पालिका घोषणा गरिसकेको र खानीखोलालाई चाँडै घोषणा गरिने बताए ।

विकासको मूल प्रवाहमा ल्याउन आवश्यक विद्युतीकरणको काम भइरहेको र सडक सञ्जालले जोड्नका लागि जनमुक्ति मार्ग निर्माणको अभियान तीव्रगतिमा भइरहेकाले अब डाँडापारि कर्णाली जस्तो अवस्थामा नरहने उनको भनाइ थियो । त्यससँगै अब प्राथमिकताका साथ सिँचाइ र तटबन्धको काममा ध्यान दिने उनले बताए । मन्त्री बस्नेतले विकासका काममा जनप्रतिनिधिलाई मात्रै जिम्मा लगाएर नपुग्ने बताउँदै आर्थिक, सामाजिक विकास र प्रगतिका लागि सकारात्मक भूमिका खेलेर सहयोग गर्न आमनागरिकलाई आग्रह गरे ।

यस क्षेत्रका सांसद सूर्यमान दोङले डाँडापारि क्षेत्रमा विद्युतीकरण सम्पन्न गर्न सहयोग गर्ने सबै बधाईको पात्र भएको बताउँदै सो क्षेत्रको थप पूर्वाधार विकासको काममा निरन्तर लागिरहेको बताए । सो क्रममा जनमुक्ति मार्ग आगामी २०८४ सालसम्ममा कालोपत्र गरिसक्ने बताउँदै बाँकी रहेका कोखाजोर जलायशयुक्त आयोजनाले विस्तारै साथर्कता पाउने उनले बताए ।

यस्तै नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको आम्दानी सबै विद्युतीकरणमा नै लगानी भएको बताए । हालसम्म ५० वटा जिल्लामा पूर्ण विद्युतीकरण भइसकेको र बाँकी जिल्लामा विस्तारका लागि निरन्तर काम भइरहेको उनको भनाइ थियो । खानीखोला गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले पूर्ण विद्युतीकरण भइसकेको र जनमुक्तिमार्ग निर्माण सम्पन्नपछि डाँडापारिका नागरिकले थप सहजता पाउने विश्वास व्यक्त गरे । महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले नेपाल विद्युत प्राधिकरणले विगत पाँच वर्षदेखि महाभारत गाउँपालिकाको विभिन्न क्षेत्रमा रहेका बस्तीमा तीन हजार चार सय ३० घरधुरीमा विद्युत मिटर वितरण गरी लाइन प्रसारणको काम सम्पन्न भएपछि पूर्ण विद्युतीकरण पालिका घोषणा गर्न सफल भएको बताए । डाँडापारीलाई सुगम भेगको परिचय दिलाउन अब विकासका काम अघि बढाउनै पर्छ । यसका लागि सबै पक्षको साथ र सहयोग अनिवार्य छ । 

याे पनि पढाैं :

काभ्रेको डाँडापारी विशेष : चट्याङमुक्त बन्यो बेथानचोकको झिंगेडाँडा (फाेटाेफिचर)


(काभ्रेको डाँडापारी पुगेर पत्रकार ज्ञानमणि नेपाल कालोटोपीले तयार पारेको रिपोर्ट)