काभ्रेको डाँडापारी विशेष : चट्याङमुक्त बन्यो बेथानचोकको झिंगेडाँडा (फाेटाेफिचर)

Prabhu Insurance
  • ज्ञानमणि नेपाल कालोटोपी

काभ्रे । जिल्लाको बेथानचोकको च्याम्राङवेसी, झिंगेडाँडा, छिमेकी जिल्ला ललितपुरका वागमति, महांकाल, सँगैका खानीखोला लगायतका क्षेत्रहरु चट्याङ धेरै पर्ने भेगका रुपमा चिनिएका क्षेत्र हुन् ।

NECO
यी क्षेत्रमा हरेक वर्ष प्राकृतिक विपत्तीको रुपमा रहेको चट्याङ पर्ने गरेको छ । जसले त्यहाँ जनधनको निकै ठूलो क्षति पुग्ने गरेको स्थानीयहरुको अनुभव छ । अझ बेथानचोक–१ च्याम्राङवेसीस्थित झिंगेडाँडामा त चट्याङले हरेक वर्ष की मान्छे की गाईवस्तुको मृत्यु हुने गरेका घटनाले समाचारमा प्राथमिकता पाउँथे । तर विगत २ वर्षदेखि यहाँ यस्तो समस्या छैन ।

पालिकाले यसगाउँमा चट्याङ प्रतिरोधी प्रविधिको जडान गर्न सहयोग गरेपछि स्थानीयहरुले ठूलो राहतको महसुस गरेको स्थानीयवासी गोपालकृष्ण सापकोटाले बताए । चट्याङ नियन्त्रणका लागि यहाँ अर्थिङ प्रविधि जडान गरिएको छ । ठाउँ ठाउँमा टावरहरु राखेर गाउँमा सुरक्षित विद्युत जडानका लागि स्थानीय युवाहरुलाई पालिकाले परिचालन गरेको छ । जसले गर्दा अहिले यहाँ चट्याङ नै पर्दैन । यहाँ बेथानचोक गाउँपालिकाले लाइटनिङ प्रोटेक्सन सिस्टम प्रोग्राम संचालन गरेर विल्डिङ इलेक्ट्रिसियन तालिम दिएको हो । यसलाई सहजीकरण गरेका थिए, इलेक्ट्रिक र इलेक्ट्रोनिक्स क्षेत्रका विज्ञ नारायणप्रसाद सापकोटाले । उनकै सल्लाह र सहयोगले यसक्षेत्रलाई चट्याङमुक्त क्षेत्र बनाउन सकिएको हो । यहाँका करिब १५० घर अहिले चट्याङमुक्त भएका छन् ।  

पालिकाका अध्यक्ष भगवान अधिकारी, उपाध्यक्ष तारा राना तिमल्सिना, वडा नम्बर १ का वडाध्यक्ष मधुसुदन तिमल्सिनालगायत स्थानीयवासीहरुले यस कार्यक्रमका लागि निकै ठूलो योगदान दिएका थिए । तालिम समापन कार्यक्रममा उनीहरुले प्राकृतिक विपत्ती बाजा बजाएर नआउने भन्दै न्यूनिकरणका उपाय अबलम्बन गर्न सकेमा यसबाट हुने क्षति कम गर्न सकिने बताए । पालिका अध्यक्ष अधिकारीले पहिलोपटक आफूहरुले गरेको प्रयासले सफलता पाएको भन्दै यसमा सहयोग गर्ने सबैलाई धन्यवाद दिए । 

उपाध्यक्ष तारा राना तिमल्सिनाले आगामी दिनमा स्थानीयहरुको जिउधनको सुरक्षामा पालिकाले गर्न सक्ने कुनै पनि सहयोगका लागि आफूहरु तयार रहेको बताइन् । स्थानीयवासी गोपालकृष्ण सापकोटाले आफ्नो गाउँमा चट्याङबाट हुने क्षति रोक्न सक्नु चमत्कार नै भएको बताए । चट्याङकै कारण यहाँका घरघरमा जडान गरिएका टेलिभिजन, बत्तीहरु, पंखाहरु जल्ने समस्या भएको र केही स्थानीयहरु बसाइँ नै सरेर गइसकेको अवस्थामा यो प्रविधिले आफूहरुलाई ठूलो राहत मिलेको उनको अनुभव छ ।

यसरी बेथानचोकमा गरिएको यो प्रविधि जडान देशकै नमुना भएको छ । यसलाई अन्य पालिकाले पनि अनुशरण गर्न सके चट्याङबाट हुने क्षति कम गर्न सकिन्छ ।