माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव

Kmc

काठमाडौँ ।  अर्थमन्त्री वर्षमान पुनलाई आगामी आर्थिक वर्षको बजेट निर्माण सम्बन्धमा उनको पार्टी नेकपा (माओवादी केन्द्र) सम्वद्ध करिब डेढ दर्जन विभागले सुझाव दिएका छन् ।

NLG InsuranceNECO
माओवादी मुख्यालय कोटेश्वर पेरिसडाँडामा पुनले आज विभिन्न विभागका प्रमुखसँग छलफल गरी सुझाव लिएका हुन् ।  मन्त्री पुन माओवादी केन्द्रका उपमहासचिव र अर्थ तथा योजना विभाग प्रमुखसमेत हुन् । कार्यक्रममा विभागीय प्रमुखहरुले बजेटमा रोजगारी सृजना गर्ने तथा उत्पादन वृद्धि गर्ने योजनामा जोड दिन आग्रह गरे ।

बजेट बनाउँदा क्षेत्रगत सन्तुलन कायम गर्न, आर्थिक र सामाजिकरुपमा पछि परेका क्षेत्र तथा संविधानले नागरिकको नैसर्गिक हकका रुपमा स्वीकार गरेको स्वास्थ्य र शिक्षासहित ऊर्जा, कृषि, पर्यटन र सूचना प्रविधिलाई प्राथमिकतामा राख्न उनीहरुको  सुझाव थियो ।

अर्थमन्त्री पुनले सहभागितामूलकरुपमा बजेट निर्माण गरिने बताए । गठबन्धन दलका चुनावी प्रतिबद्धता अनुसार सरकारको नीति कार्यक्रम ल्याइने उनको भनाइ थियो । आफूले यसअघि विभिन्न क्षेत्रका प्रतिनिधिसँग बजेट निर्माण सम्बन्धमा सुझाव लिएको र ती सुझाव बजेट निर्माणमा समेट्ने प्रतिबद्धता जनाए ।