भुम्लुमा काँग्रेसको ऐतिहासिक प्रथम सम्मेलन सम्पन्न

Kmc

काभ्रे । जिल्लाको भुम्लु गाउँपालिकामा नेपाली काँग्रेसको ऐतिहासिक प्रथम सम्मेलन सम्पन्न भएको छ । नेपाली काँग्रेसको भुम्लु गाउँपालिकाको कार्य समितिको आयोजनामा शनिबार भुम्लु गाउँपालिका वडा नं ५ स्थित सल्लेमा प्रथम सम्मेलन सम्पन्न भएको हो ।

NLG InsuranceNECO
नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतको प्रमुख आतिथ्यता र नेपाली काँग्रेस भुम्लु गाउँपालिकाका सभापति एवं भुम्लु गाउँपालिकाका उपाध्याक्ष जितेन्द्रमान तामाङको सभापतित्वमा कार्यक्रम सञ्चालन भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य बस्नेतले पार्टीभित्रै भएको अन्तरघातका कारण पराजितको स्थिती श्रृजना भएको बताए । यस अघिको निर्वाचनमा गरिएको गठबन्धनमा भएको बिमेल पनि पराजितको कारण भएको उनको भनाइ थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईंले भुम्लु गाउँपालिकाको विकासका लागि आफूले पहल गरिरहेको बताए । आफू पदमा रहेपनि नरहेपनि जनताको दुःखसुखमा सधैं साथ दिने उनले प्रतिबद्धता व्यक्त गरे ।

नेपाली काँग्रेसको पहलमा काभ्रेमा धेरै विकास निर्माणका कामहरु भएको नेपाली काँग्रेस काभ्रेका जिल्ला सभापति एवं बागमती प्रदेश सभा सदस्य तिर्थ लामाले बताए । आफू प्रदेशको खानेपानी, उर्जा तथा सिचाईं मन्त्रीको जिम्मेवारी पदमा रहँदा जिल्लामा विकासका लागि करोडौं बजेट सुनिश्चित गरी कार्यान्वयन भएको उनले जानकारी गराए । जिल्लाका १३ वटा स्थानीय तहमध्ये भुम्लु गाउँपालिकाले विकास गति अघि बढाएको र थप विकासका काममा सघाउन आफू प्रतिबद्ध रहेको उनकाे भनाइ थियाे ।

कार्यक्रमका सभापति एवं भुम्लु गाउँपालिकाका उपाध्यक्ष जितेन्द्रमान तामाङले पार्टीभित्र एकता कायम गर्दै विकासका गतिविधिहरु अघि बढाइने बताए । विकासमा अब युवाले नेतृत्व गर्नुपर्ने र पार्टीभित्रका युवाहरुको सक्रिय सहभागिता रहनुपर्ने उनको भनाइ थियो । कार्यक्रममा नेपाली काँग्रेस काभ्रेका जिल्ला समितिका पदाधिकारी, भातृ संगठनका पदाधिकारी, जिल्ला स्थित विभिन्न पालिकाका जनप्रतिनिधि, स्थानीय लगायतको उपस्थिती रहेको थियो ।