काठमाडौं । वैशाख १ देखि १८ गतेसम्म देशभर ३ हजार ३ सय ठाउँमा डढेलो लागेको छ । गर्मी बढेसँगै डढेलो लाग्ने क्रम बढ्दा मानवीय तथा भौतिक क्षति उच्च हुँदै गएको छ । वन तथा भूसंरक्षण विभागका वन अधिकृत गोविन्दकुमार श्रेष्ठले वैशाख १ गतेदेखि १८ गतेसम्म देशभर ३ हजार ३ सय ठाउँमा डढेलो लागेको बताए ।
उनले ४० देखि ५० जिल्लामा डढेलो फैलिँदा ठूलो जनधनको क्षति भएकोसमेत जानकारी दिए । विभागको तथ्यांक अनुसार वैशाख ८ गते ३ सय ५ तथा ९ गते सबैभन्दा बढी ३ सय ५० ठाउँमा डढेलो लागेको थियो । सामान्यतया माघ, फागुन, चैत, वैशाख र जेठ महिना डढेलो लाग्ने महिना रहेको विज्ञहरूले बताउने गरेका छन् । वैशाख महिनामा मात्रै सुर्खेत, प्युठान, खोटाङ र बाँके तथा बर्दिया राष्ट्रिय निकुञ्जमा नै भीषण डढेलो लागेको छ ।
डढेलो लाग्नुमा प्राकृतिक र मानवीय कारण मुख्य देखिएको छ । नेपालमा प्राकृतिकरूपमा डढेलो नलागेको र डढेलो लाग्ने मुख्य कारण मानवीय रहेको अधिकृत श्रेष्ठले जानकारी दिए । उनले जनचेतना बढाउन जरुरी रहेकोमा जोड दिएका छन् । प्राकृतिकरूपमा लाग्ने डढेलोको मुख्य कारण चट्याङ, ढुङ्गा खसेर, ज्वालामुखी विस्फोट लाग्ने गरेको छ भने नेपालमा भने मानिसले जानाजान डढेलो लगाउने गरेका छन् ।
मानवीय कारणले जानाजान र बदलास्वरूप डढेलो लगाउने गरेको विभागले जनाएको छ । विशेष गरेर राष्ट्रिय निकुञ्जमा स्थानीय बासिन्दाले निकुञ्ज प्रयोग गर्न नपाएको रिसले पनि डढेलो लगाउने गरेको पाइन्छ ।
वन डडेलो लगाएमा चाँडै घाँस पलाउने र पानी पर्दा माथिबाट खरानी बगेर खेतमा आई मल हुने अन्धविश्वासले पनि डढेलो लगाउने गरिएको छ । कतिपय भने खेतबारीमा पातपतिङ्गर डढाउँदासमेत वनमा आगो सल्किएर डढेलो लाग्ने गरेको छ । त्यसैगरी जथाभाबी ननिभाई चुरोटका ठुटा फाल्दा र वनभोज जानेहरूले आगो ननिभाई हिँड्दा पनि डढेलो लाग्ने गरेको छ ।नेपाल समाचारपत्रबाट