‘चीन सधैँ नेपालको समृद्धि, शान्ति र राजनीतिक स्थिरताको पक्षमा’

Kmc

काठमाडौँ  । नेकपा माओवादी केन्द्का महासचिव देवप्रसाद गुरुङले हालै गरेको चीन भ्रमणबाट दुई देशबीचको सम्बन्धलाई थप बलियो बनाउन सफल भएको बताएका छन् ।

NLG InsuranceNECO
चीनको दश दिने भ्रमण सकेर हालै स्वदेश फिर्ता भएका महासचिव गुरुङले आज यहाँ संवाद डबलीद्वारा आयोजित अन्तरसंवाद कार्यक्रममा चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागको निम्तामा गरेको भ्रमणमा चीन नेपालको शान्ति, समृद्धि र राजनीतिक स्थायित्वका लागि सधैं तत्पर रहेको उल्लेख  गरे ।

“चिनियाँ उच्च अधिकारीसँगको भेटले हामी उत्साहित छौँ, चीन सधैँ नेपालको समृद्धि, शान्ति र राजनीतिक स्थिरताका लागि सहयोग गर्न तयार छ”, उनले भने  “चीनले नेपालमा स्थिर सरकार हेर्न चाहेको छ । कम्युनिस्ट पार्टीहरुबीच सहकार्य होस् भन्ने चाहना राखेको छ ।”

महासचिव गुरुङ नेतृत्वको ३० सदस्यीय टोलीले चीनमा रहँदा चिनियाँ कम्युनिस्ट पार्टी र सरकारका उच्च अधिकारीसँग भेटवार्ता गरेको थियो । भ्रमणले चिनियाँ कम्युनिस्ट पार्टी र माओवादी केन्द्रबीचको सम्बन्धलाई जनस्तरसम्म पु-याउन सहयोग पुग्ने महासचिव गुरुङको विश्वास छ ।


फरक प्रसङ्गमा महासचिव गुरुङले वर्तमान सरकार संसद्को पुरै कार्यकालसम्म टिक्ने बताए । “संसद्को बाँकी समयसम्म यही समिकरण जान्छ”, उनले भने । नेपालको निर्वाचन प्रणालीका कारण एउटा दलले बहुमत प्राप्त गर्न नसक्ने अवस्थाले सत्ता समिकरण परिवर्तन भइरहने अवस्था सिर्जना भएको उनको भनाइ थियो ।

महासचिव गुरुङले भर्खरै भएको तेस्रो लगानी सम्मेलन सफल भएको बताए । देश विकासका लागि मुख्य कुरा आन्तरिक पुँजी भए पनि बाह्य पुँजी भित्र्याएर अगाडि बढ्नुपर्ने उनको सुझाव थियो ।

“देश विकासका लागि आन्तरिक पुँजी मुख्य कुरा हो । तर हाम्रो आवश्यकता र प्राथमिकताका आधारमा बाह्य पुँजी भित्र्याएर रोजगारी सिर्जनासँगै देशलाई समृद्ध बनाउन सकिन्छ । त्यही अनुसार सरकारले तेस्रो लगानी सम्मेलन आयोजना गरेको हो”, महासचिव गुरुङले भने ।

कार्यक्रममा भ्रमण टोलीका सदस्य एवं माओवादी केन्द्रका नेता डा दीपेन्द्र रोकायाले नेपालको विकासका लागि चीनबाट शिक्षा लिन सकिने बताए । भ्रमणको अनुभव सुनाउँदै उनले चीनले जस्तै तीब्र गतिमा विकास गरी नेपाललाई पनि समृद्ध बनाउन सकिने सम्भावना रहेको बताए । औद्योगिकरुपमा सम्पूर्ण देशलाई अगाडि बढाउन नसक्दासम्म देश अगाडि नबढ्ने उनले बताए ।