काठमाडौँ । गत फागुनको तुलनामा चैतमा सरकारको सार्वजनिक ऋण (सरकारी ऋण) करिब साढे २ अर्ब रुपैयाँले घटेको छ ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार गत फागुन मसान्तसम्म तिर्न बाँकी सरकारी ऋण २३ खर्ब ८८ अर्ब २६ करोड रहेकामा गत चैतसम्म आइपुग्दा घटेर २३ खर्ब ८५ अर्ब ७९ करोड रुपैयाँ कायम भएको हो ।
यस अवधिमा सरकारले धेरै आन्तरिक ऋणको भुक्तानी गरेकाले कुल तिर्न बाँकी सार्वजनिक ऋण २ अर्ब ४७ करोड रुपैयाँले घटेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।
गत चैतमा मात्र कार्यालयले करिब २९ अर्ब रुपैयाँ आन्तरिक ऋण भुक्तानी गरेको छ, जसमध्ये २२ अर्ब ६५ करोड साँवा र ६ अर्ब ३२ करोड रुपैयाँ ब्याज रहेको छ । पछिल्ला महिनामा सरकारले बाह्यभन्दा धेरै आन्तरिक ऋणको साँवाब्याज भुक्तानी गरिरहेको छ । यसकारण आन्तरिक ऋण केही घटेपछि कुल तिर्न बाँकी सार्वजनिक ऋणमा कमी आएको हो ।
गत चैतसम्म तिर्न बाँकी सार्वजनिक ऋणमध्ये ११ खर्ब ७९ अर्ब ४८ करोड आन्तरिक र १२ खर्ब ६ अर्ब ३१ करोड रुपैयाँ बाह्य रहेको छ । गत फागुन मसान्तसम्म ११ खर्ब ८५ अर्ब ५२ करोड आन्तरिक र १२ खर्ब २ अर्ब ७३ करोड रुपैयाँ तिर्न बाँकी बाह्य ऋण रहेको थियो । गएको एक महिनामा सरकारले केही बाह्य ऋणको पनि साँवाब्याज भुक्तानी गरेको छ । तर, आन्तरिक ऋणको भुक्तानी बाह्यको भन्दा धेरै भएको सरकारी तथ्यांक छ ।कान्तिपुरबाट