पाठेघरको मुखको क्यान्सरसम्बन्धी सचेतनामूलक वेबिनार कार्यक्रम सम्पन्न

Kmc

अमेरिका । नेपालमा महिलाहरुको पाठेघरको मुखको क्यान्सरसम्बन्धी चुनौती तथा समाधानका उपायहरु बारे अमेरिका-नेपाल नीति अनुसन्धान केन्द्र (US-Nepal Policy Research Center) ले वेबिनार कार्यक्रम आयाेजना गरेकाे छ । केन्द्रद्वारा महिलाहरूको पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ (परिक्षण) तथा एचपिभी नियन्त्रणका लागि एचपिभी लगायतका बिभिन्न खोपका सवालमा विश्व परिवेशमा गरिएका अभ्यास र नेपालका लागि अवसर र चुनौतीका बारेमा छलफल गर्न आयोजित एक वेबिनार कार्यक्रम सम्पन्न भएको हाे । अमेरिका-नेपाल नीति अनुसन्धान केन्द्रले गत विगतदेखि नै नेपालको नीतिगत तहमा सहयोग पुग्ने किसिमका विभिन्न सेमिनार तथा अनुसन्धानात्मक  कार्यक्रमहरू गर्दै आएको छ ।

NLG InsuranceNECO
यसैक्रममा यस वेबिनारका वक्ताहरूले महिलाको पाठेघरको मुखको क्यान्सर निदान गर्न विश्वका धेरै राष्ट्रहरूले गरेका अभ्यास उपर छलफल गर्दै नियमित परीक्षण र एचपिभी खोपको महत्व बारेमा हालसम्म गरिएका अनुसन्धानहरुका बारेमा बिचारहरु राखेका थिए । यसका साथै नेपालमा प्रतिदिन चार जनाका दरले सो रोगबाट मृत्यु भइरहेको सरकारी आँकडा छ । महिलाको मृत्युमा दोस्रो प्रमुख कारणको रुपमा रहेको यस रोगको नियन्त्रण गर्न आगामी दिनमा के कसरी सामना गर्ने भन्ने बारेमा पनि सबैको ध्यानाकर्षण गराएका थिए ।

एचपिभी के हो ?

एचपिभी वा Human papilloma virus (HPV) ले सामान्यतया शारीरिक यौन संसर्ग गर्दा पाठेघरमा एक किसिमको संक्रमण ल्याउँछ । यो भाइरस करिब ९० प्रतिशत मानवको शरिरमा हुने र यसको संक्रमणबाट पाठेघरको मुखको क्यान्सर हुने हुँदा यसको निदानका लागि नियमित शारिरीक परिक्षण र एचपिभी खोपको जरुरत पर्दछ ।

विश्व परिवेशमा प्राप्त अवसरहरू 
विश्व जगतले महिलाको पाठेघरको मुखको क्यान्सरलाई नियन्त्रण गर्न नियमित परीक्षण र एचपिभी खोपलाई प्राथमिकतामा राखेको पाइन्छ । सो सम्बन्धमा नेपाली मूलका अमेरिकन र नेपालमा कार्यरत बिशेषज्ञ डाक्टरहरुले नेपाल सरकारले प्राथमिकतामा राखि निदानात्मक कार्यक्रमसहित आगामी दिनमा थप रकम र पूर्वाधारमा बिचार गर्नु पर्ने भनाइ राखेका थिए । यस रोगको निदानका सम्बन्धमा नियमित परीक्षण गर्ने सवालमा अमेरिकामा सरकारी निर्देशिका बमोजिम २१ देखि २९ वर्षसम्मका महिलाहरूले प्रत्येक ३ वर्षमा र ३० देखि ६५ वर्षसम्मका महिलाको हकमा फरक-फरक किसिमको प्याप र एचभिपी परीक्षणबारे सिफारिस गरिएका अनुसन्धानात्मक निचोडहरुलाई बिज्ञहरुले प्रस्तुत गरेका थिए । प्याप र एचभिपी दुबै प्रबिधि ३० देखि ६५ बर्ष उमेर समूहका लागि परिक्षणबाट उपयोगी रहेकोसमेत छलफल गरिएको थियो ।

यस्तैगरि कार्यक्रमका बिशेषज्ञहरुले ९ देखि १२ वर्ष उमेर पुगेका यूवायूवतीहरुका लागि एचपिभी खोपको ब्यवस्था गरिएको र उक्त खोप यदि संक्रमण हुनु पहिले नै लगाइयो भने करिव ९७ प्रतिशत सफलता दर रहेको कुरा वेबिनारको अन्तरक्रियामा प्रस्तुत गरिएको थियो । जसका लागि खोपको पहुँच नेपाल जस्ता देशमा पुर्याउन सबैले पहल गर्नु पर्ने जानकारी गराइएको थियो । यसका साथै कार्यक्रमका बिज्ञहरुले एचपिभी खोप ४५ वर्षसम्मका उमेर समूहका लागि पनि लाभदायक हुने र यो खोप लगाउँदा भाइरसको संक्रमणबाट बचाउन सकिने बिचार ब्यक्त गरेका थिए ।

नेपालले ब्यहोरेका चुनौतीहरु
वेबिनारमा नेपालको परिप्रेक्षमा महिलाहरुले भान्सा र घरधन्दाको काम गर्न नसक्ने अवस्था पछि मात्र अस्पताल पुग्ने गरेको तितो यतार्थबारे बिज्ञहरुले जानकारी गराएका थिए । साथै नेपालले सन् २०१७ मा ३० देखि ६५ वर्ष समूहका ७० प्रतिशत महिलाहरुको शाररिक परिक्षण गर्ने लक्ष्य लिएकोमा सन् २०१९ को आँकडा हेर्ने हो भने केवल ८.२ प्रतिशत महिलाहरुले मात्र परिक्षणमा सहभागी भएको प्रति नीति निर्माताको ध्यानाकर्षण गराएका थिए ।  

नेपालको परिप्रेक्षमा आमसर्वसाधारणको रोगप्रतिको गलत अवधारणा, सचेतनाको कमी, कमजोर आर्थिकस्तर, नियमित परिक्षण र खोपसम्बन्धि गलत सोचाई, प्रचार-प्रसारमा कमी, सर्बसाधारणको खोपमा पहूँच नहुनु, काम गर्ने दक्ष जनशक्तीको अभाव, ग्रामिण भेगमा पूर्बाधारको अभाव एवम् नीति निर्माण तहमा यस बिषयले प्राथमिकता नपाउनु आदि ब्यक्तिगत, सामाजिक र नितीगत समस्याहरु रहेको बिचारहरु ब्यक्त गरिएका थिए । यसका साथै नेपालमा बिभिन्न देशबाट ल्याइने फरक फरक कम्पनीले उत्पादन गरेका एचपिभी खोपहरु उपयोग गर्दा यसले पार्ने असर र खोपको विश्वसनियताका बारेमा पनि अनुसन्धान हुन नसकेको अवस्थाको बारेमा समेत छलफल गरिएको थियो ।

बेबिनारको सारांस 
नेपालमा महिलाहरूको पाठेघरको मुखको क्यान्सर एक जल्दोबल्दो समस्याको रूपमा देखिएको छ । यसको समाधानको प्रमुख उपाय भनेको स्क्रिनिङ (परिक्षण) तथा एचपिभी खोपमा पहुँच र सर्बसुलभता गर्नु नै हो । यसका लागि ब्यक्तिगतरुपमा सचेतना फैलाउनु पर्ने एकातिर छ भने अर्कोतर्फ राजनीतिक प्रतिबद्धता र स्पष्ट नीतिगत अवधारणा एवम् सरकारी लगानी बढाउनु पर्ने देखिन्छ ।  

वेबिनारमा डा. सुदीक्षा बाँस्कोटा, डा. ङवाङ शेर्पा, डा. सुनिता अर्याल, डा. अर्चना श्रेष्ठ, र डा. अन्जु श्रेष्ठले विभिन्न पक्षहरूलाई समेटेर विश्व जगतमा भएका अभ्यास र नेपालमा नीतिगत सुधारका लागि हालसम्म चालिएका कदम र अनुसन्धानले देखाएका विभिन्न पक्षमा आफ्नो प्रस्तुति प्रस्तुत गरेका थिए । कार्यक्रम केन्द्रका अध्यक्ष जगदम्बा अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कार्यक्रमकाे भिडियाे हेर्न यहाँ क्लिक गर्नुहाेला ।