काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत मंगलबार राति भएको खेलमा लखनउ सुपर जायन्ट्सले रोयल च्यालेन्जर्स बंग्लोर (आरसिबी)माथि २८ रनको जित निकालेको छ ।
टस हारेर पहिला ब्याटिङको निम्तो पाएको लखनउले क्विन्टन डिककको ८१ रनको शानदार अर्धशतकमा आरसिबीलाई १८२ रनको लक्ष्य दिएको थियो । एन चिन्नास्वामी स्टेडियममा लखनउले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १८१ रन बनाएको थियो ।
लखनउका डि काकले ५६ बलमा ८ चौका र ५ छक्काको मद्दतमा सर्वाधिक ८१ रन बनाए । मार्कस स्टोयनिस २४, केएल राहुल २० र देवदत्त पडिक्कल ६ रनमा आउट हुँदा निकोलस पूरन ४० रनमा नटआउट रहे । आरसिबीका ग्लेन मैक्सवेलले सर्वाधिक २ विकेट लिए । रिस टोप्ली, यश दयाल र मोहम्मद सिराजले १-१ विकेट हात पारे ।
१८२ रनको लक्ष्य पछ्याएको आरसिबीका लागि महिपाल लोमरले सर्वाधिक ३३ रन जोडे । लखनउका बलरसामु कमजोर सावित भएको आरसिबी १५३ रन बनाएर १९.४ बलमा अलआउट भयो । जितसँगै लखनउले तीन खेल खेल्दै चार अंक जोडेको छ । आरसिबी भने चार खेलमा दुई अंक मात्र जोड्न सफल भएको छ ।
आईपिएल अन्तर्गत बुधबार दिल्ली क्यापिटल्स र कोलकत्ता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुँदैछ । यो खेल साँझ ७ : ४५ मा सुरु हुनेछ ।