वैदेशिक रोजगारी समस्याबाट पीडित भएका १३ जना महिलासहित ११० जनाको उजुरी

Kmc

झापा । वैदेशिक रोजगारी समस्याबाट पीडित भएका १३ जना महिलासहित ११० जनाले उजुरी दिएका छन् । चैत २० गतेसम्म परेको उजुरीमध्ये ८७ वटा मुद्दा अझै प्रक्रियामा रहेको छ । २१ वटा मुद्दा समाधान गरी ४५ लाख ९० हजार रकम असुलउपर गर्न सफल भएको जनाइएको छ ।

NLG InsuranceNECO
सुरक्षित आप्रवासन (सामी) कार्यक्रम, सुरक्षित वैदेशिक रोजगारीका लागि जिल्लास्तरमा सामी कार्यक्रमको अर्धवार्षिक समीक्षा गोष्ठीमा सामाजिक परिचालन अधिकृत शेखर बुढाथोकीले कार्यपत्र प्रस्तुत गर्दै यस्तो जानकारी गराएका हुन् ।

बुढाथोकीका अनुसार मेनवापरबाट ठगिएका, पासपोर्ट खोसिएका, विदेशमा पुगेर मेडिकल फेल भएका, फरक कामको प्रकृतिका काम लगाइएका व्यक्तिहरूले आप्रवासी स्रोत केन्द्रमा उजुरी दिएको बताएका छन् । अघिल्लो आर्थिक वर्ष २०७९/०८०मा १२९ मुद्दा दर्ता भई ४० वटा मुद्दा मात्र फर्छ्यौट भएको थियो ।

चालु आ.वको अहिलेसम्म केन्द्रले वैदेशिक रोजगारीमा जान लागेका ३ हजार २८९ महिला र ६ हजार १८४ पुरुष गरी ९ हजार ४८३ जनालाई सूचना परामर्श सेवा प्रदान गरिएको उनले बताएका छन् ।

रिटर्नी स्वयंसेवकमार्फत घर दैलो कार्यक्रम अन्तरगत वैदेशिक रोजगारीबाट फर्किएका ५ सय ५, फलोअप ८ सय ७७, समूहमा सूचना प्रदान ६७ र घरमा भेटेर सूचना प्रदान १० हजार ५०८ जनासँग परामर्श गरिएको उनको भनाई रहेको छ । सामीले वित्तीय साक्षरता, मनोपरामर्श कक्षा सञ्चालन, आर्थिक सहायता र उद्धारको पनि काम गर्दै आइरहेको उनले बताएका छन् ।

कार्यक्रम जिल्लाको चार पालिकाहरू भद्रपुर, मेचीनगर, गौरीगञ्ज र दमकमा सञ्चालन भइरहेको रोजगार संयोजक टीकाराम पाण्डेले जानकारी दिएका छन् । वैदेशिक रोजगारीबाट फर्किएकालाई मनोसामाजिक परामर्श अन्तरगत भद्रपुरमा २७, मेचीनगरमा २४, गौरीगञ्जमा २४ र दमकमा ९ वटा मुद्दा परेको उनको भनाई रहेको छ ।