एसईई र विश्वविद्यालयको शिक्षामा वर्षमा दुई पटक भर्ना गराउने गरी नीतिगत प्रबन्ध गरिने

Kmc

काठमाण्डौ । माध्यमिक शिक्षा परीक्षा (एसईई) र विश्वविद्यालयको शिक्षामा वर्षमा दुई पटक भर्ना गराउने गरी नीतिगत प्रबन्ध गरिने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश अधिकारीले बताएका छन् ।

NLG InsuranceNECO
अनुगमन शैक्षिक फाउन्डेसनले आज सोमबार आयोजना गरेको ‘नेपाल शिक्षा सम्मेलन २०२४’ को उद्घाटन सत्रमा उनले वार्षिक परीक्षामा अनुत्तीर्ण हुने विद्यार्थीको समय क्षति भई पढाइ छाड्ने वा उनीहरू अवसरको खोजीमा विदेश जाने प्रवृत्ति देखिएकाले त्यस्तो नीतिका लागि बहस भइरहेको बताएका छन् ।

कक्षा नौ देखि १२ कक्षामा ४३ प्रतिशत विद्यार्थी विद्यालय बाहिर हुन पुगेको, उच्च शिक्षामा १५ देखि २० प्रतिशत मात्रै विद्यार्थी भर्ना भएको र सवा लाख विद्यार्थी वार्षिक विदेश जाने स्थितिप्रति आफूहरू चिन्तित भएको उनले बताएका छन् । यसका लागि नीतिगत पुनरावलोकन र संस्थागत सुधार आवश्यक भएको शिक्षा सचिव अधिकारीको भनाई छ ।

नेपाल खुल्ला विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.लेखनाथ शर्माले पुस्तान्तरणबीचको खाडललाई मेट्न सक्ने गरी सूचना र प्रविधि सापेक्ष शिक्षा नीति र प्रयोगिताको अभ्यासमा ध्यान दिन आग्रह गरेका छन् ।

कार्यक्रममा दिगो विकासका लक्ष्य र शिक्षा नीति, प्राविधिक शिक्षा, कृषि, शिक्षा स्वास्थ्य र वातावरण शिक्षा, वित्तीय क्षेत्र र शिक्षा आदि विषयमा सम्बन्धित विज्ञ र सरोकार भएका व्यक्तिबीच समूह छलफल भएको थियो ।