महेन्द्रनगर । कैलाली र कञ्चनपुरमा मात्रै बसोबास रहेका राना थारु समुदायले भव्यरुपमा परम्परागत खखडेहरा पर्व मनाइरहेका छन् ।
होलीको आठौँ दिन राना थारु समुदायले गाउँका भलमन्साको घरमा होली खेलेर मनाउनुका साथै घरघरमा पुगेर फगुवा माग्ने प्रचलन रहेको छ । कञ्चनपुरको बेदकोट नगरपालिका–९ सुन्दरपुरका राना थारु समुदायका भलमन्सा नरेन्द्र रानाले परम्परागतरुपमा खखडेहरा पर्व मनाइरहेको भए पनि पछिल्लो समय सुदूरपश्चिम प्रदेश सरकारले बिदा दिएर आफ्नो समुदायको कला, संस्कृति र पर्वप्रति सम्मान गरेको भन्दै खुसी व्यक्त गरे ।
थारु समुदायमा खखडेहरा पर्वका अवसरमा होलीलाई अर्को वर्ष खेल्न पाउने गरी बिदाइ गर्ने प्रचलन छ । राना थारु समुदायका महिलाले भने होली चैत महिनाको चराइँ पर्वमा पठाउने चलन रहेको भलमन्सा रानाले बताए । “यो पटक चराइँ मिलन कार्यक्रम वैशाखमा परेको छ”, उनले भने “चराइँमासमेत पूजाअर्चनाका साथै भोजन गराउने गरिन्छ ।”
खखडेहरा पर्वमा आज बिहानै राना थारु समुदायका अगुवाले घरघरबाट पूजा सामग्री सङ्कलन गरेको उनले बताए । “खखडेहरामा पूजा गर्न सात प्रकारको अन्न सङ्कलन गरिएको छ”, उनले भने “गाउँमा रहेका भलमन्सा, चाकर, भर्रालगायतले गाउँको चौबाटोमा विधि विधानअनुसार पूजा गरिसकेपछि हडिया, खप्टा, घोडाको मूर्ति, दियोलगायत फोड्ने चलन छ ।”
त्यसैगरी बेदकोट–९ का चाकर पदमा नियुक्त रामस्वरुप रानाले खखहेडरा पूजाका क्रममा गाउँका निश्चित व्यक्ति सहभागी हुने गरेको बताए । “राक्षसी प्रवृत्तिलाई भगाउन जाने भएकाले फोडेर फर्कने क्रममा पछाडि फर्केर हेर्दैनन्”, उनले भने, “फर्केर हेरेमा सँगै घर फर्कने र अनिष्ट निम्त्याउने किंवदन्ती छ ।”
सो पर्व मनाउने क्रममा साँझपख हरेक राना थारु समुदायको घरमा पुगेर फगुवा माग्ने गरिन्छ । “फगुवामा इच्छाअनुसारको नगद रकम दिने र फगुवा माग्नेले साँझ रमाइलो गर्दै भोज खाने गर्छन”, रानाले भने, “साँझपख महिला र पुरुषले परम्परागत शृङ्गार गरी होली खेल्ने गरिन्छ ।”
खखडेहरा पर्वमा गरिने पूजाअर्चनाले अन्नबाली सप्रने, रोगव्याधि हट्ने, गाउँमा खुसियाली छाउने भन्ने जनविश्वास रहेको रानाको भनाइ छ । खखडेहरा पर्वका अवसरमा आज सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक बिदासमेत दिएको छ । रानाथारु समुदायले जिउँदो र मरेको होली गरी दुई प्रकारको होली मनाउने गर्दछन् ।
होली पर्वको रानाथारु समुदायमा धार्मिक तथा सांस्कृतिक महत्व रहेको छ । दैत्य हृण्यकश्चपले शक्ति दुरुपयोग गरेर आफ्नै छोरा प्रह्लादलाई मार्न खोज्दा सत्यको जीत भएको र असत्यको पक्षमा रहेकी हृण्यकश्चपकी बहिनी होलीका आगोमा भष्म भएको सम्झनामा रानाथारुले होरी पर्व मनाउँछन् ।