काठमाडौँ । पहेंलो धातुका रूपमा परिचित सुनको मूल्यले फेरि नयाँ कीर्तिमानी बनाएको छ । रुस–युक्रेनबीचको युद्ध रोकिने अनिश्चितता बढेसँगै अन्तर्राष्ट्रिय बजारमा अस्थिरता देखिँदा र डलरको भाउ उकालो लाग्दा सुनको मूल्यले नयाँ कीर्तिमानी बनाएको जानकार बताउँछन् ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला १ लाख ३० हजार रुपैयाँमा कारोबार भएको छ । यो मूल्य अहिलेसम्मकै बढी हो । बिहीबार प्रतितोला १ लाख २७ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनले शुक्रबार कीर्तिमानी बनाएको हो । बिहीबारको तुलनामा शुक्रबार प्रतितोला मूल्यमा २ हजार १ सय रुपैयाँ बढेको छ । ‘बिहीबारको तुलनामा सुनको मूल्य प्रतिऔंस ६० अमेरिकी डलरले मूल्य बढेको छ, सोही कारण सुनको भाउले नयाँ रेकर्ड बनायो,’ महासंघका अध्यक्ष माणिकरत्न शाक्यले भने, ‘मूल्य विश्लेषण गर्दा सुनको मूल्य कीर्तिमानीको बाटोमा देखिन्छ ।’
बिहीबार प्रतिऔंस २ हजार २ सय ३१ अमेरिकी डलरमा कारोबार भएको शाक्यले जनाए । शुक्रबार भने यसको मूल्य बढेर प्रतिऔंस २ हजार १ सय ७१ डलर पुगेको छ । ‘अन्तर्राष्ट्रिय बजार हेर्दा सुनको भाउ अझै बढ्न सक्ने संकेत देखिएको छ । प्रतिऔंस २ हजार २ सय ३१ डलरमा कारोबार भएको सुन बढेर ३ हजार डलरसम्म पुग्नेसमेत प्रक्षेपण छ,’ अध्यक्ष शाक्यले भने, ‘अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा यहाँ स्वतः त्यसको असर देखिन्छ ।’
नेपालमा अन्तर्राष्ट्रिय बजार र भारतको बजारलाई आधार मानेर मूल्य निर्धारण गरिन्छ । अन्तर्राष्ट्रिय बजारलाई ७५ र भारतीय बजारलाई २५ प्रतिशत आधार मानेर यहाँ मूल्य निर्धारण गर्ने गरिएको छ । त्यसमा १५ प्रतिशत भन्सार शुल्क लाग्छ । अन्तर्राष्ट्रिय बजारमा आएको उत्तारचढावसँगै नेपालमा पनि मूल्य बढाइन्छ । तर महासंघले तोकेको मूल्यमा सर्वसाधारणले सुन पाउँदैनन् । सर्वसाधारणले सुन किन्दा व्यवसायीले जर्ती, ज्याला, मुनाफालगायत शीर्षकमा अतिरिक्त शुल्क लिने गरेका छन् । त्यसैले पनि सर्वसाधारण महँगो मूल्यको भारमा पर्ने गरेको सरोकारवाला बताउँछन् ।
‘बिहीबारको मूल्य प्रतितोला सुन १ लाख ३० हजार रुपैयाँ भए पनि बिक्री गर्दा जर्तीका नाममा व्यवसायीले १० प्रतिशत र ज्याला करिब २ प्रतिशत जोड्छन्,’ एक गहना व्यवसायीले भने, ‘त्यसमा थप मुनाफा जोड्छन् । औसतमा १२ प्रतिशत जोडेर बिक्री गर्दा सर्वसाधारणलाई थप महँगो पर्ने गरेको हो ।’ महासंघको विवरण अनुसार सुनको भाउले यस साता लगातार नयाँ कीर्तिमानी कायम गरिरहेको छ ।
साताको तेस्रो दिन सामान्य घटे पनि त्यसपछि सुनको मूल्य क्रमशः कीर्तिमानी बाटोमा छ । आइतबार सार्वजनिक बिदा भएकाले मूल्य निर्धारण नभएको महासंघले जनाएको छ । सोमबार प्रतितोला १ लाख २६ हजार ७ सय निर्धारण भयो । मंगलबार भने मूल्य प्रतितोला २ सय रुपैयाँ घटेर १ लाख २६ हजार ४ सय रुपैयाँ कायम भयो । त्यसपछि बढ्न थालेको सुनको मूल्यले शुक्रबार कीर्तिमानी बनाएको हो । बुधबार प्रतितोला १ लाख २६ हजार ८ सय रुपैयाँ तोकिएको थियो । बुधबारको तुलनामा बिहीबार तोलामा १ हजार १ सय रुपैयाँ बढेर १ लाख २७ हजार ९ सय रुपैयाँ निर्धारण भयो । शुक्रबार त्यसमा पनि थप बढेर कीर्तिमानी मूल्य कायम भएको छ ।
यहीबीच डलरको भाउले पनि नयाँ उचाइ कायम गरेको छ । शुक्रबार १ अमेरिकी डलर बराबर १ सय ३३.३७ रुपैयाँ कायम भएको छ । यही हिसाबमा मूल्य बढ्दै गए बजार थप प्रभावित हुने देखिन्छ । नेपालमा कोटा प्रणालीअनुसार वाणिज्य बैंकहरूले दिनको २० किलो सुन आयात गर्न पाउँछन् । चाडबाड र बिहेको सिजनमा सुनको माग बढ्ने हुँदा व्यवसायीले कोटा बढाउन ‘लबिङ’ गर्दै आएका छन् । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको ८ महिनामा १५ अर्ब २३ करोड ४१ लाख रुपैयाँको सुन आयात भएको छ । उक्त सुन यूएईबाट आयात भएको हो । यसबाट सरकारले २ अर्ब २८ करोड ५१ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । गत वर्ष भने २२ अर्ब ३५ करोड ४५ लाख रुपैयाँको आयात भएको थियो ।कान्तिपुरबाट