१२ वर्षे मेला यही चैत्र १७ गते शनिबार सम्पन्न हुने

Kmc

काठमाण्डौ । एक हजार ७७ वर्ष पुरानो हरिसिद्धि भवानीदेवी (जलद्योः) को १२ वर्ष मेला यही चैत्र १७ गते शनिबार सम्पन्न हुने भएको छ । फुल्चोकी माईको विशेष पुजाआजा गरी मेला समापन गरिने भएको छ ।

NLG InsuranceNECO
त्यसका लागि सम्पूर्ण तयारी पूरा भइसकेको हरिसिद्धि भवानी १२ वर्ष फुल्चोकीमाई पर्व सञ्चालन समितिले विहीबार पत्रकार भेटघाट गरी जानकारी दिएको छ ।

हरेक वर्ष योमरी अर्थात धान्य पूर्णिमा र फागु पूर्णिमाको दिन हरिसिद्धि भवानीको नाच देखाउँदै आएपनि १२ वर्षमा एकपटक हुने मेलामा फुल्चोकीमाईको दर्शन गर्ने परम्पराले अघिपछि भन्दा थप रौनकता थपिएको पाइन्छ । धुलिखेल,पशुपति, दोलखा र पनौतीमा नाच देखाईसकेपछि अहिले सो नाच समापन गर्न लागिएको हो ।

समितिका अनुसार यही शनिबार हरिसिद्धि भवानीका २९ जना देवगण परम्परागत कां बाजा, धिमे बाजासाथ भक्तजनहरुको लावालस्कर फुल्चोकी माईको दर्शन र धार्मिक विधिपूर्वक पुजाआजा गर्न फुल्चोकी डाँडातर्फ जानेछ । त्यसका लागि बिहान ४ बजेदेखि हरिसिद्धि भवानी मन्दिरको प्राड्डणमा भेला हुने क्रम शुरु हुनेछ ।

उक्त परम्पराले हरिसिद्धि भवानी र फुल्चोकीको जंड्डलसंगको धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई उजागर गर्दै आएको यसका संलग्न गुठीयारहरु बताउँछन् । प्रत्येक १२ वर्षमा हुने गोदावरीको प्रसिद्ध सिंहअष्ट मेलाको शुभारम्भ पनि भवानीका देवगणबाटै हुने परम्परा रहीआएको छ । देवगणहरुले गोदावरी कुण्डको ढोका खोलेर नुहाएपछि मात्र मेलाको शुरु हुने गर्दछ । देवगणहरुले ढोका बन्द गरेपछि मेला समापन हुने गर्दछ ।

हरिसिद्धका स्थानीयको मृत्यू हुँदा दाहसंस्कारको लागि आवश्यक काठ फुल्चोकी डाँडाबाटै ल्याउने परम्परा रहेको छ । हरेक वर्ष असार १५ गतेसम्ममा वर्षा नभई रोपाई गर्न सकिएन भने फुल्चोकी माई (गुराहिटीमा)लाई पुजाआजा गरे पानी पर्ने जनविश्वास रहेको छ । धार्मिक र सांस्कृतिक जीवनमा मुख्य भूमिका रहेका १० मुख्य देवगण(च्याभु पुजारी) र १९ सहायक देवगण(गण पुजारी) को नाच, नित्यपुजा, हरिसिद्धि भवानीसंग जोडिएको गुठीलाई स्थानीयले निकै महत्वका साथ लिएर सक्रिय सहभागिता जनाउँदै आएको समितिका संयोजक गणेश महर्जनले बताएका छन् ।

फुल्चोकीमाईको दर्शन र पुजाआजा गरी गोदावरीको हरिसिद्धि चौरमा हरिसिद्धि भवानीको प्रतीक स्वरुप कलश विराजमान गराई देवगणहरुलाई प्रसाद ग्रहण गराउने परम्परा रहीआएको छ ।

उक्त कार्यपछि सरकारी पुजा, श्रद्धालु भक्तजनहरुबाट पुजा गर्ने गरिन्छ । त्यसपछि भक्तजनको लावालस्करसहित देवगण बाँडेगाउँको जलःगाबाट ठैबको जलःचपाको बाटो हुँदै हरिसिद्धि भवानीको मन्दिर परिसरमा पुगेपछि मेला औपचारिक रुपमा समापन हुन्छ ।

यस मेलाका सञ्चालनका ललितपुर महानगरपालिका वडा नं २८ र २९ ले आवश्यक सहजीकरण गर्ने, स्रोत साधन जुटाईदिने,सम्बद्ध पक्षसंग मिलेर व्यवस्थापनको भूमिका सहयोग पु-याएको समितिले जनाएको छ ।

हरिसिद्धि भवानीको १२ वर्षको नाच स्थानीयको धार्मिक विश्वास, सांस्कृतिक र सामाजिक पक्षसंग अन्योन्याश्रित सम्बन्ध रहेको उल्लेख गर्दै वडा नं २८ का वडाअध्यक्ष समेत रहेका अर्का संयोजक वीरेन्द्र महर्जनले भने ‘ यसलाई व्यवस्थित रुपमा सञ्चालन गर्न दुई वटै वडा मिलेर लागिपरेका छौं ।’ साविकको हरिसिद्धि गाविस स्थानीय तहको पुनःसंरचनापछि महानगरपालिकाको २८ र २९ वडामा विभाजन गरिएको थियो ।

१२ वर्षको नाच सञ्चालनका लागि आवश्यक २०७८ बैशाख २९ गतेदेखि शुरु भएको थियो । १० जना मुख्य देवगण (च्याभु पुजारी) लाई पुजा गरी, मृत्यू भएका देवगणको स्थान छोराहरु पुजारी वस्त्र धारण गराई यज्ञ, विशेष पुजाआजा र नाच प्रशिक्षण दिई १२ वर्ष नाचको लागि प्रक्रिया शुरु गरिएको थियो । त्यसबखत प्रत्येक घरका एक जना भोज (देय् भ्वय् ) खुवाईएको थियोे ।