तीन वर्षअघि नै उद्घाटन भएकाे धरहरा निर्माणकाे भौतिक प्रगति ९२ प्रतिशत

Prabhu Insurance

काठमाडौँ । काठमाडौँको सुन्धारास्थित धरहरा उद्घाटन भएपछि छ पटक निर्माणको म्याद सकियो तर अझै पनि निर्माण पूरा भएको छैन । २०७२ वैशाख १२ गतेको भूकम्पबाट ध्वस्त बनेको धरहराको ठाउँमा नयाँ बनेको धरहरा निर्माण पूरा नहुँदै २०७८ वैशाख ११ गते उद्घाटन भएको थियो  । भौतिक प्रगति २५ प्रतिशत मात्र रहेका बेला तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका हुन्  ।

NECO
२०७५ पुसदेखि निर्माण कार्य सुरु भएको धरहराको २०७७ असोज ६ गते पहिलो पटक नौ महिनाका लागि २०७८ असार १६ गतेसम्म म्याद थपिएको थियो । पहिलो पटक थपिएको म्यादको अन्तिमतिर धरहराको उद्घाटन भएको थियो । यसबीचमा छैटौँ पटक थप गरिएको म्याद पनि यही माघ ४ गते नै सकिसकेको छ । अब सातौँ पटक म्याद थप्न प्रक्रिया अगाडि बढाइएको छ । अब कति समय दिने भन्ने छलफलकै क्रममा रहेको जानकारी दिइएको छ ।

धरहराको अहिलेको भौतिक प्रगति ९२ प्रतिशत र वित्तीय प्रगति ७८.६ प्रतिशत पुगेको सहरी विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन) ले जनाएको छ ।

धरहरा पुनर्निर्माण तत्कालीन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमार्फत अगाडि बढाइएको थियो भने अहिले सहरी विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन) मार्फत भइरहेको छ । दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी २०७५ असोज १४ गते तत्कालीन राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र निर्माण कम्पनी जिआइइटिसी–रमण (संयुक्त) बिच सम्झौतापत्रमा हस्ताक्षर भएको थियो  । सम्झौताअनुसार २०७७ असोज २० गतेसम्म आयोजनाको निर्माण अवधि रहेको थियो  । सम्झौतापछि निर्माण कम्पनीले २०७५ कात्तिकदेखि निर्माण कार्य सुरु गरेको थियो भने पुस १२ गते धरहराको शिलान्यास गरिएको थियो  ।

केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन) का आयोजना प्रमुख कोषनाथ अधिकारीले जग्गा विवाद, स्थानीयको विभिन्न माग तथा अवरोध, कोभिड–१९ को महामारी तथा बन्दाबन्दी र निर्माण कम्पनीको ढिलासुस्तीका कारण सम्झौता अनुसारको निर्धारित समयमा काम सम्पन्न नहुँदा पटक पटक म्याद थप गर्नु परेको बताए ।

निर्धारित समयमा काम सम्पन्न नहुँदा तत्काल गरिएको डिजाइन अनुसारका सामान नपाउने, पाए पनि अत्याधिक महँगो हुने भएकाले समेत काममा ढिलाइ हुन गएको उनको भनाइ छ । उनले काममा जति ढिलाइ हुँदै गयो त्यति नै यो समस्या थपिँदै जाने स्पष्ट पारे । कुल तीन अर्ब आठ करोड ११ लाख रुपियाँको लागत रहेको सो आयोजनामा अहिलेसम्म निर्माण कम्पनीलाई दुई अर्ब ४५ करोड ७४ लाख रुपियाँ भुक्तानी भइसकेको छ ।

मुख्य निर्माण सम्पन्न
आयोजना प्रमुख अधिकारीले धरहरा निर्माणको मुख्य संरचनाको काम सम्पन्न भइसकेको जानकारी दिए । तत्कालीन राजा रणबहादुरकी पत्नी ललितत्रिपुरा सुन्दरीले १८८२ सालमा निर्माण गर्न लगाएको धरहरा १८९० सालको भूकम्पमा भत्कियो । पुनर्निर्माण गरिएको सो धरहरा १९९० सालको भूकम्पमा फेरि भत्कियो । १९९० सालको भूकम्पमा भत्किएर पुनर्निर्माण गरिएको धरहरा २०७२ साल बैशाख १२ गतेको भूकम्पमा पूर्ण रूपमा ध्वस्त भएको थियो । ११ तले धरहरालाई १९९० सालपछि पुनर्निर्माण गर्दा नौतले बनाइएको थियो । त्यस बखत ६१.८८ मिटर अग्लो धरहरा निर्माण गरिएको थियो । अहिलेको डिजाइन अनुसार बाहिरबाट हेर्दा ११ तला जस्तो देखिने धरहराको भित्री संरचना २२ तलाको छ । यसको उचाइ जमिनबाट ८३.५८ मिटर छ ।  गाेरखापत्रबाट