काठमाडौं । नेपाल सरकारले प्रतिबन्ध लगाएको इराकमा २० हजारभन्दा बढी नेपाली कामदार कार्यरत रहेका छन् । गैरकानुनी बाटो हुँदै इराक पुगेका नेपाली कामदार समस्यामा पर्दा धेरै खालको सास्ती झेल्नु परेको छ ।
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् इराकका अध्यक्ष विनोद श्रेष्ठका अनुसार सरकारले प्रतिबन्ध लगाए पनि हजारौं नेपाली महिला मानव तस्करको जालोमा परेर भारतको बाटो हुँदै इराक पुग्ने गरेका छन् । गैरकानुनी रूपमा इराक पुगे पनि त्यहाँ पुगेपछि भने कानुनीरूपमै बसोबास गर्न पाउँछन् ।
‘यहाँ आउने त सबै गैरकानुनी रूपमै हो, तर यहाँ आइपुगेपछि कानुनीरूपमै बसेका हुन्छन्,’ अध्यक्ष श्रेष्ठले भने, ‘गैरकानुनी बाटो हुँदै यहाँ आउने नेपाली महिला कामदारलाई बिरामी हुँदा भने औषधि उपचार गर्न समस्या हुने गर्छ ।’ श्रेष्ठका अनुसार इराकमा २० हजारभन्दा बढी नेपाली कामदार कार्यरत रहेका छन् ।
सरकारले इराक गन्तव्यमा प्रतिबन्ध लगाउँदा दलालहरूलाई मात्र फाइदा पुगेको त्यहाँस्थित विभिन्न नेपाली संगठनहरूले बताउने गरेका छन् । दलालले पछिल्लो समय भारतको बाटो हुँदै इराक, जोर्डन, दुबई, कतार, साउदी अरेबिया, कुवेत, ओमानलगायतका मुलुकमा नेपाली महिला कामदार पठाउने गरेका छन् । गैरकानुनी बाटोबाट विदेश पठाउनेक्रम बढ्दा मानव तस्करहरू भने मालामाल बनिरहेका छन् ।
गैरकानुनी बाटो हुँदै खाडीका विभिन्न मुलुकमा पुग्ने कामदारसँग श्रम स्वीकृति हुँदैन । त्यहाँ मृत्यु वा बिरामी परेको खण्डमा त्यहाँ रहेका सम्बन्धित नेपाली दूतावासले पनि शव नेपाल पठाउन लाग्ने खर्च नबेहोर्ने हुँदा धेरैको शव अलपत्र पर्ने गरेको छ । कतिको शव स्वदेश फर्काउन आर्थिक अभाव हुँदा विदेशमै अन्तिम संस्कारसमेत गर्ने गरिएको छ ।राजधानीबाट