वैशाखमा संघ, प्रदेश र स्थानीय तहको उपनिर्वाचन गर्ने आयोगकाे तयारी

Prabhu Insurance

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभाको निर्वाचन सम्पन्न भएपछि वैशाख दोस्रो सातातिर संघ, प्रदेश र स्थानीय तहको उपनिर्वाचन गराउने लक्ष्यका साथ गृहकार्य अघि बढाएको छ ।

NECO
राज्यका तीनवटै तहमा विभिन्न कारणले रिक्त जनप्रतिनिधिको पूर्ति गराउन आयोगले वैशाखको दोस्रो सातातिर निर्वाचन गराउने सोचले गृहकार्य अघि बढाएको हो । आयोगको तथ्यांकअनुसार इलाम–२ को प्रतिनिधि सभा र बझाङको प्रदेश सभाको उपनिर्वाचन गराउनु पर्नेछ।

संघीय संसद्तर्फ प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको हृदयाघातबाट निधन भएपछि उहाँ निर्वाचित इलाम क्षेत्रनम्बर–२ रिक्त भएको हो । यसैगरी सवारी दुर्घटनामा परी प्रदेश सभा सदस्य एवं सुदूरपश्चिम प्रदेशका कानुनमन्त्री पृथ्वीबहादुर सिंहको निधन भएसँगै उहाँ निर्वाचित बझाङ– १ (१) रिक्त भएको आयोगले जनाएको छ ।

रिक्त हुन आएको प्रतिनिधि सभा सदस्य पदमा नेपालको संविधानको धारा ८४ को उपधारा (७) बमोजिम प्रतिनिधि सभाको कार्यकाल ६ महिनाभन्दा बढी बाँकी छँदै कुनै सदस्यको स्थान रिक्त भएमा त्यस्तो स्थानमा जुन निर्वाचन प्रणालीबाट निर्वाचित भएको हो, सोही प्रक्रियाद्वारा पूर्ति गरिने व्यवस्था रहेको छ ।

सोहीअनुरूप आयोगले उपनिर्वाचन गराउने विषयमा छलफल शुरू गरेको हो । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाका अनुसार  माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचनसँगै संघ, प्रदेश र स्थानीय तहमा वैशाखभित्रमा निर्वाचन गराउन सकिने विषयमा आयोगले सरकारसँग परामर्श गरिरहेको छ ।

एकैपटक गर्दा व्यवस्थापकीय र प्राविधिक तयारी गर्न सजिलो हुने भएकोले एकैपटक उपनिर्वाचन गराउने तयारी भइरहेको पनि प्रमुख निर्वाचन आयुक्त थपलियाको भनाइ छ । प्रतिनिधिसभा निर्वाचनसम्बन्धी ऐन–२०७३ को दफा ३८ मा पहिलो भई निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत निर्वाचित कुनै सदस्यको पद प्रतिनिधिसभाको अवधि ६ महिनाभन्दा बढी अवधि कायम रहँदै कुनै कारणले रिक्त भएमा आयोगले तोकेको मितिमा त्यस्तो रिक्त सदस्यको पद उपनिर्वाचनद्वारा पूर्ति गरिने प्रावधान छ । तर, स्थानीय तहको हकमा उपनिर्वाचन सरकारले तोक्नुपर्ने प्रावधान रहेको छ ।

एक नगरपालिका प्रमुख र एक गाउँपालिकाका अध्यक्षसहित देशभरका स्थानीय तहमा १७ जना वडाअध्यक्ष रिक्त रहेका छन् । आयोगका अनुसार अधिकांश जनप्रतिनिधिको निधन भएका कारण ती स्थानीय तहमा जनप्रतिनिधि रिक्त रहेको हो । त्यसका अतिरिक्त केही वडाध्यक्ष जिसस प्रमुख भएको र एकाधले राजीनामा दिएका कारण स्थानीय तहमा जनप्रतिनिधि रिक्त रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।

स्थानीय तह निर्वाचन ऐन २०७३ को उपदफा २ मा जिल्ला समन्वय समितिको प्रमुख, उपप्रमुख, गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष तथा वडाध्यक्ष एवं नगरपालिकाको प्रमुख, उपप्रमुख तथा वडाध्यक्षको पदावधि समाप्त नहुँदै निजको पद कुनै कारणले रिक्त भएमा बाँकी पदावधिको लागि निर्वाचन आयोगको परामर्श लिई नेपाल सरकारले तोकेको मितिमा त्यस्तो रिक्त पद उपनिर्वाचनद्वारा पूर्ति गरिने भनिएको छ ।

तर, एक वर्षभन्दा कम पदावधि बाँकी रहेको अवस्थामा भने उपनिर्वाचन नगरिने सोही उपदफामा उल्लेख गरिएको छ । स्थानीय तह निर्वाचन ऐनमा स्थानीय तहमा उपनिर्वाचन गर्नुपर्ने भएमा नेपाल सरकारले मिति तोक्ने भन्ने उल्लेख छ ।नेपाल समाचारपत्रबाट