राष्ट्रिय सभा निर्वाचन : कुन दलका कस्ता छन् उम्मेदवार ?

Prabhu Insurance

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचन आगामी ११ माघमा हुँदैछ । १९ सिटका लागि हुने निर्वाचनका लागि आज उम्मेदवारी दर्ताको समय निर्वाचन आयोगले तोकेको छ । ५९ सदस्यीय राष्ट्रिय सभामा २० सांसदको पदावधि २० फागुनपछि सकिँदैछ । २० मध्ये एक जना सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुनेछन् ।

NECO
१९ सिटका लागि प्रमुख राजनीतिक दलले उम्मेदवारको टुंगो लगाएका छन् । सत्तारूढ दल गठबन्धनको बैठकबाट भागबन्डा टुंगो लगाएपछि उम्मेदवारको टुंगो लगाउन जुटेका छन् । उता प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले भने उम्मेदवारको टुंगो लगाएको छ ।

सुरुमा प्रमुख प्रतिपक्षी एमाले सत्तारूढ दलसँगै मिलेर निर्वाचनमा सहभागी हुनेगरी तयारी गरे पनि सत्तारूढ दलसँग तालमेल नमिलेपछि एक्लै निर्वाचनमा सहभागी हुँदैछ । एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्तारूढ दलसँग मिलेरै निर्वाचनमा सहभागी हुनका लागि प्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायतका नेतासँग छलफल गर्दै आएका थिए । तर, अन्ततः एमाले एक्लै निर्वाचनमा सहभागी हुने अवस्था आएको हो ।

यस्ता छन् एमाले उम्मेदवार
एमालेले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि १९ वटै सिटको उम्मेदवार टुंगो लगाएको छ । महासचिव शंकर पोखरेलले विज्ञप्तिमार्फत उम्मेदवारको नाम सार्वजनिक गरेका छन् ।

एमालेले कोशी प्रदेशमा महिलाबाट सुनसरीकी रुक्मिणी चौधरी र अन्यबाट भोजपुरका परशुराम अधिकारीलाई उम्मेदवार बनाएको छ । त्यसैगरी, मधेसबाट महिलातर्फ पर्साकी उषादेवी थरुनी र अन्यबाट महोत्तरीका अर्जुनकुमार सिंहलाई उम्मेदवार बनाएको छ ।

बाग्मतीमा महिलातर्फ दोलखाकी रोचकुमारी चौलागाईं, अन्यबाट चितवनका त्रिलोचन निर्मल पौडेल, अल्पसंख्यक तथा अपांगता भएकाबाट काठमाडौंका विवेक देवकोटा र दलिततर्फ धादिङका ध्रुवराज विश्वकर्मालाई एमालेले उम्मेदवार बनाएको छ ।

गण्डकीबाट महिलातर्फ गोरखाकी सम्झना देवकोटा, अन्यतर्फ स्याङ्जाका चक्रबहादुर पराजुली र अल्पसंख्यक तथा अपांगताबाट मुस्ताङका हेमचन्द्र शेरचन एमालेका उम्मेदवार रहेका छन् ।

लुम्बिनीमा महिलातर्फ दाङकी तुलसाकुमारी केसी र अन्यतर्फ पाल्पाका झपेन्द्रबहादुर घर्ती एमालेका उम्मेदवार हुन् । त्यसैगरी, कर्णालीबाट महिलातर्फ हुम्लाकी बिमलाकुमारी शाही, अन्यतर्फ मुगुका डिल्लीप्रसाद भट्ट र दलिततर्फ दैलेखका हिक्मत विकलाई एमालेले उम्मेदवार बनाएको छ ।

त्यसैगरी, एमालेले सुदूरपश्चिमबाट महिलातर्फ कैलालीकी सावित्रीदेवी घिमिरे, अन्यतर्फ कञ्चनपुरका ईश्वरीप्रसाद खरेल र अल्पसंख्यक तथा अपांगतातर्फ कैलालीका रामचन्द्र जोशीलाई उम्मेदवार बनाएको छ ।

राष्ट्रिय सभामा पदावधि समाप्त भएका १९ मध्ये एमालेका ९ सदस्य रहेका छन् । गठबन्धनसँग प्रतिस्पर्धा गर्नुपर्ने भएकाले यसपटक एमालेले आफ्नो सिटसमेत गुमाउने अवस्था छ ।

यसपटक राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनेकी चौधरी २०७९ सालमा भएको प्रदेशसभा निर्वाचनमा रौतहट ३(क)मा पराजित भएकी थिइन् । सत्ता गठबन्धन दल जसपाले गठबन्धनबाट राष्ट्रिय सभामा १ सिट भाग पाउँदा परिवारवाद हाबी देखिएको छ ।

जसपाबाट चौधरी
यसैबीच, जनता समाजवादी पार्टी नेपाल (जसपा)बाट पूजा चौधरी राष्ट्रियसभा सदस्यको उम्मेदवार बन्ने भएकी छन् । सत्ता गठबन्धनबीच राष्ट्रिय सभाको १९ सिटमा भागबन्डा हुँदा एक सिट पाएको जसपाले चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । आइतबार बसेको जसपा कार्यकारिणी समितिको बैठकले रौतहटकी पूजा चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

मधेस प्रदेशबाट महिला सिटको भाग पाएको जसपाले चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । उनी गत वर्ष भएको प्रदेशसभा निर्वाचनमा रौतहट ३ (क)मा पराजित भएकी थिइन् । चौधरी जसपा राष्ट्रिय कार्यकारिणी समिति सदस्य गोविन्द चौधरीकी छोरी हुन् ।

उम्मेदवार छान्ने जिम्मेवारी तीन नेतालाई
यसैबीच, राष्ट्रिय सभा निर्वाचनका लागि सत्ता गठबन्धनबीच सिट भागबन्डा हुँदा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को भागमा २ सिट परेको छ । आइतबार उम्मेदवार छान्न एकीकृत समाजवादीको सचिवालय बैठक पार्टी कार्यालय आलोकनगरमा बसेको थियो । बैठकमा सम्भावित पात्रका बारेमा छलफल भए पनि निर्णय हुन सकेन ।

बैठकपछि पार्टी उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले दिएको जानकारीअनुसार बैठकले दुई उम्मेदवार छान्ने जिम्मा अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव घनश्याम भुसाललाई दिएको छ । एकीकृत समाजवादीले पाएका २ सिटका लागि प्रमेश हमाल, नरेन्द्र बस्नेत, गणेश विकलगायतको नाममा सचिवालय बैठकमा छलफल भएको थियो ।

राप्रपाबाट कोको ?
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रिय सभा निर्वाचनका उम्मेदवार सार्वजनिक गरेको छ । राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार कोशी प्रदेशमा उद्वव पौडेल, बाग्मती प्रदेशमा हेमजंग गुरुङ, नानु नगरकोटी, भरतमणि भट्ट र पूर्णबहादुर विश्वकर्मालाई उम्मेदवारका रूपमा अघि सारिएको छ ।

यस्तै, गण्डकीमा गौमाया श्रेष्ठ र रोमबहादुर भण्डारी तथा लुम्बिनीमा निरञ्जन थापा र विजयलक्ष्मी सिंहलाई उम्मेदवार बनाउने निर्णय भएको छ । यसैगरी, कर्णालीमा बबिता शाही, लक्ष्मीकुमारी सार्की, लालबहादुर शाहीको नाम टुंगो लागेको छ । सुदूरपश्चिममा रोमजंग स्वाँर, जनककुमारी कुँवर र जयकृष्ण बोहरा तथा सुमेश्वर उपाध्याय र तारा सुनारको नाम टुंगो लागेको छ ।राजधानीबाट