महसुल नतिर्ने थप पाँच उद्योगको लाइन काटियो

Prabhu Insurance

काठमाडौं । उद्योगी व्यवसायी र मजदुरको विरोधका बाबजुद नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइन विवादमा फसेका थप दुईवटा उद्योगको बिजुली काटिदिएको छ ।

NECO
शुक्रबार चारवटा उद्योगको लाइन काटेपछि उद्योगी र मजदुर सरकारविरुद्ध आएका थिए । विरोधबीच नेपाल विद्युत् प्राधिकरणले अशोक स्टिल–सिमरा, त्रिवेणी स्पिनिङ–वीरगन्ज, सर्वोत्तम सिमेन्ट उद्योग–परासी, लक्ष्मी स्टिल–परासी र सोनापुर स्प्रिङ उद्योगको पनि लाइन काटिदिएको हो । आइतबार साँझ ७ बजेर १० मिनेट जाँदा यी उद्योगको लाइन काटिएको हो ।

डेडिकेटेड तथा ट्रंकलाइनको प्रिमियम महसुल नतिरेको भन्दै प्राधिकरणले शुक्रबार १ अर्बभन्दा माथि बक्यौता पुगेका चार उद्योगको लाइन काटेकोमा आइतबार भने ५० करोडमाथिको बक्यौता भएको थप दुई उद्योगको लाइन काटेको हो । शुक्रबार प्राधिकरणले रिलाइन्स स्पिनिङ मिल्स, जगदम्बा स्टिल्स, अर्घाखाँची सिमेन्ट र घोराही सिमेन्टको लाइन काटेको थियो ।

नेपाल विद्युत् प्राधिकरणले ६० भन्दा धेरै उद्योगलाई डेडिकेटेड तथा ट्रंकलाइनमार्फत विद्युत् उपयोग गरेको भन्दै शुल्क असुल्न खोजेको छ भने उद्योगहरु २४ घण्टा नै उपभोग नगरेकाले प्रयोग गरेको शुल्क मात्र तिर्ने पक्षमा देखिएका छन् ।

उद्योगीहरूले बिनामाग दिएको लाइनको महसुल तिर्न नसकिने र बरु उद्योगको चावी नै सरकारलाई बुझाउने चेतावनी दिँदै आएका छन् । नेपाल विद्युत् प्राधिकरणका अनुसार सर्वोत्तम सिमेन्टले ८३ करोड र लक्ष्मी स्टिलले ६२ करोड बक्यौता तिर्न बाँकी छ ।

नेपाल विद्युत् नियमन आयोगले २०७३ असार अन्तिममा सूचना निकालेर ट्रंक लाइनबाट बिजुली दिने भने पनि लगत्तै साउनमा प्राधिकरणले अर्को सूचना निकालेर हाललाई नदिने भनेको थियो । उद्योगीका अनुसार प्राधिकरणले ट्रंक लाइनबाट बिजुली चलाएको भनेर शुल्कसहितको बिल पठाएको छ । सो बिल २०७३ असारदेखिकै पठाएकाले यो मान्य नहुने उद्योगीको भनाइ हो ।

उद्योगीले भने मुलुकमा लोडसेडिङका बेला खपत नै नगरेको अतिरिक्त बिजुलीको महसुल उद्योगीलाई जबर्जस्ती भिडाइदिएको बताउँदै आएका छन् । उद्योगीले ६ अर्ब बक्यौता रहेकै बेला यसको विरोध गरेकोमा तीन वर्षपछि फेरि बिल पठाएर उद्योगीलाई तर्साउने काम भएको भन्दै यसकाे छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै आएका छन् ।राजधानीबाट