भारतलाई ६ विकेटले हराउँदै अस्ट्रेलिया छैटौँ पटक विश्व च्याम्पियन

Kmc

काठमाडौँ । भारतलाई हराउँदै अष्ट्रेलियाले एकदिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । भारतलाई उसैको घरेलु मैदानमा ६ विकेटले हराउँदै अष्ट्रेलियाले छैठौं पटक विश्वकपको ट्रफी उचालेको हो ।

NLG InsuranceNECO
लगातार १० खेल जितेर फाइनलमा पुगेको भारत उपाधि भिडन्तमा भने चुकेको छ । भारतले १२ वर्षयता एकदिवसीय विश्वकपको उपाधि जित्न सकेको छैन । अहमदावादको नरेन्द्र मोदी स्टेडियममा २४१ रनको सामान्य लक्ष्य अष्ट्रेलियाले ४२ बल बाँकी छँदै ४ विकेट गुमाएर पुरा गरेको थियो ।

अष्ट्रेलियालाई छैठौं पटक एकदिवसीय विश्वकपको उपाधि जिताउन ट्रैविस हेडले उत्कृष्ट ब्याटिङ गरे । उनले १२० बलमा १३७ रन बनाएपछि भारतीय आकांक्षामा तुषारापात भएको थियो । हेडले १५ चौका र ४ छक्का प्रहार गरेका थिए । ८१ रनमा ३ विकेट गुमाएर दबाबमा आएको टिमलाई हेडले मार्नस लाबुशेनसँग मिलेर जितसम्म पुर्‍याएका थिए । लाबुशेनले अविजित ५८ रन बनाए ।

भारतका जसपृत  बुमराहले २ र मोहम्मद शामीले १ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको भारत अन्तिम बलमा अलआउट हुँदै २४० रनमा सीमित भएको थियो । केएल राहुल र विराट कोहलीले अर्धशतक बनाए । अष्ट्रेलियाका मिचेल स्टार्सले ३ तथा प्याट कोमिन्स र जोस हेजलउडले २-२ विकेट लिएका थिए । यो विश्वकपमा भारतका विराट कोहलीले सर्वाधिक ७६५ रन बनाए भने भारतकै मोहम्मद शामीले सर्वाधिक २४ विकेट लिए ।