काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविवि मन्त्रालयले बोलाएको वार्ता नेपाल शिक्षक महासंघले अस्वीकार गरेको छ । विभिन्न मागहरु राखी आन्दोलनमा होमिएको महासंघले मन्त्रालयको वार्ता अस्वीकार गरेको हो ।
संसदमा दर्ता विद्यालय शिक्षा विधेयकका कतिपय व्यवस्थामा विरोध जनाउँदै बुधबारदेखि महासंघले काठमाडौं केन्द्रित आन्दोलन गर्दैछ । महासंघले आन्दोलन अन्तर्गत असोज ३ गतेदेखि देशभरका विद्यालय बन्दको आव्हान गरेको छ ।
मन्त्रालयले आन्दोलनका कार्यक्रम स्थगित गरेर वार्तामा आउन आव्हान गरेकोमा महासंघले वार्तामा बस्न अस्वीकार गरेको छ ।
शिक्षा मन्त्रालयका सहसचिव भगवान अर्यालले विज्ञप्ति निकालेर नेपाल शिक्षक महासंघले उठाएका कतिपय मागहरू विधेयक पारित भएपछि तर्जुमा हुने नियमावली र सरकारको नीतिगत निर्णयबाट सम्बोधन हुने प्रकृतिका रहेको उल्लेख गरेका छन् ।
‘महासंघले अघि सारेका मागहरू सम्बोधन गर्न सरकार तयार नै छ,’ विज्ञप्तिमा भनिएको छ, ‘मंगलबार अपराह्न ३ बजे शिक्षा मन्त्रालयमा हुने वार्तामा सहभागी हुन महासंघलाई मन्त्रालय आग्रह गर्दछ ।’