चितवन । उद्योग सङ्घ चितवनको आयोजना र नेपाली जुत्ता घरको सहकार्यमा पर्व विशेष मेला, २०८० हुने भएको छ । उद्योग सङ्घ चितवनको प्रदर्शनी केन्द्रमा असोज ३ देखि कात्तिक २ गतेसम्म मेलाको आयोजना गर्न लागिएको हो ।
एक महिनासम्म सञ्चालन हुने मेलामा जुत्ता, चप्पल, खाद्यान्न, लत्ताकपडा, खसी, बोकालगायतका उपभोग्य वस्तुहरू पाइने आयोजकले जानकारी गराएको छ ।
उद्योग सङ्घ चितवनका अध्यक्ष त्रिलोचन कँडेलले सुरुआती तीन हप्ता जुत्ताचप्पल मेला हुने र पछिल्लो एक हप्ता खाद्यान्न, लत्ताकपडा, खसी, बोका राखिने जानकारी दिए । यसका लागि विभिन्न उद्योगहरूसँग छलफल भइरहेको उनले बताए । उत्पादक तथा उपभोक्ता र सरोकारवालाहरूबीच प्रत्यक्ष सम्बन्ध स्थापना र उत्पादनको बजारीकरणको प्रवर्द्धन हुने विश्वास लिइएको उनले बताए । तेह्र वटा जुत्ता कम्पनीहरूले स्टल राख्ने छन् । मेलामा दुई लाखले अवलोकन गर्ने र १० करोडको कारोबार हुने अनुमान गरिएको छ ।
स्वदेशी उत्पादनबारे आम उपभोक्तालाई स्थलगत अवलोकन गराई स्वदेशी उत्पादनको उपभोगका लागि प्रोत्साहन गर्नु मुख्य उद्देश्य रहेको उनले जानकारी दिए । मेलामा नेपाली उद्योगबाहेक अन्य उद्योगको उत्पादन बिक्री वितरण गर्न नपाइने र सबैको मूल्य सूची टाँस गरिने उनको भनाइ छ ।
पत्रकार सम्मेलनमा नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य नयनराज घिमिरेले नेपालको अर्थतन्त्रलाई चलायमान बनाउन मेलाको आयोजना गर्न लागिएको बताए। नेपाली उत्पादनका लागि अहिले मुख्य चुनौती न्यून बिजकीकरण रहेको उनको भनाइ थियो ।
नेपाली जुत्ता घरका अध्यक्ष होमनाथ उपाध्यायले अहिले नेपालमा वार्षिक १० करोड जोर जुत्ताको माग भइरहेको जानकारी दिए । अहिले नेपालका उद्योगहरूले १६ करोड जोर जुत्ता उत्पादन गर्ने क्षमता भए पनि ६२ प्रतिशतमात्र उत्पादन हुँदै आएको उनले बताए । उनका अनुसार वार्षिक दुई करोड जोरभन्दा बढी जुत्ता विदेशबाट नेपाल आउने गरेका छन् । नेपालमा आत्मनिर्भर व्यवसाय भएर पनि दक्ष कामदार पाउन नसक्दा समस्या भएको उनको भनाइ छ ।