सरकारले सुन तस्करी गर्ने उद्योग नै चलाएको छः ओली

Kmc

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सुन तस्करी गर्ने उद्योग नै चलाएको आरोप लगाएका छन् । आफूमाथि पशुपतिमा ‘सुनको भनेर पित्तलको जलहरी चढाएको’ आरोप लगाएर सरकारले एयरपोर्टबाट क्वीन्टलका क्वीन्टल सुन तस्करी गरेको ओलीको जिकिर थियो ।

NLG InsuranceNECO
आईतवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजित ‘बढ्दो महंगी र उपभोक्ता हित’ विषयक विचार गोष्ठीमा बोल्दै उनले सरकारले ‘चिलतिर औंलो देखाएर कुखुरा उडाएको शैलीमा’ क्वीन्टलका क्वीन्टल सुन तस्करी गरेको बताए । अध्यक्ष ओलीले माअ‍ोवादी नेता कृष्णबहादुर महरा बाबुछोराप्रति संकेत गर्दै साढे नौ केजी सुन तस्करी गर्नेलाई बचाउनका लागि २९४ पटक फोन सम्पर्क गर्नेलाई सरकारले केही पनि नगरेको भन्दै आक्रोश समेत व्यक्त गरे ।

वर्तमान सरकार उपभोक्तामाथि संस्थागत रुपमै गैरजिम्मेवार रहेको भन्दै ओलीले उपभोक्ताको हित संरक्षण गर्ने कर्तव्यबाट च्युत नहुन पनि सचेत गराए ।

उनले भने, ‘उपभोक्तामाथि संस्थागत रुपमै राज्य गैरजिम्मेवार छ । र, राज्यको माथिल्लो तहदेखि कार्यकारिणीको माथिल्लो तहदेखि नै यस प्रकारका कामहरु भइराखेका छन् । साढे नौ केजी सुन पक्राउ प¥यो । त्यो कहाँ गयो, के भयो, अत्तापत्तो छैन । र, बजारले त्यसलाई सामान्य रुपमा लिएको छ । नेपाली समाजले साढे नौ केजी सुन भन्सारमा पक्राउ प¥यो । त्यो अलपत्र, अलपत्र छ । को को का बाउछोरा के, के भयो रे । २९४ पटक सम्पर्क गरेको देखियो, भन्सारमा कुदेर गएको पाइयो । यो छोडदेऊ । यसोयसो भनेको पाईयो । तर पनि केही हुँदैन । लाञ्छित कसलाई गर्ने भन्ने उहाँको पोलिटिकल एजेण्डा छ । कसलाई लाञ्छित गर्ने । को पट्टी संकेत गर्ने ? जव हाउसमा पशुपतिमा सुन चढाएर भनेर पित्तल चढाइयो भनेर एउटा सत्ताधारी गुटका सांसद कराए । त्यतिबेरै मैले केही हुँदैछ कि । पशुपतितिर ध्यान मोडेर के गर्न खोजिराखेका छन् भनेको ? एयरपोटबाट क्वीन्टलका क्वीन्टल सुन ओसारपसार चलाउने उद्योग रहेछ त्यहाँ । त्यो उद्यम उतातिर चलाउने, यता पशुपतिमा सुन तौलिने लगाउने । यो खालको तरिकाले चिलतिर देखाउने, यता कुखुरा उडाउने । यो खालको तरिकाहरु राज्यबाट भइराखेको छ । हामी सरकारमा हुँदाहोस् वा नहुँदा उपभोक्ताको हित संरक्षण गर्ने कर्तव्य प्रमुख रुपमा सरकारको हो ।’

ओलीले आफ्नो पार्टीले आम उपभोक्ताको हितका लागि सरकारको पनि ध्यानाकर्षण गराए । त्यस अवसरमा उनले आम उपभोक्ताको हित संरक्षणका लागि गरिवी निवारणमा जोड दिनुपर्ने आवश्यक्ता पनि औंल्याए ।