कोलम्बो । एसिया कप २०२३ को पछिल्लो खेलमा श्रीलंकाले पाकिस्तानलाई हराएको छ । बिहीबार राति सम्पन्न खेलमा श्रीलंकाले पाकिस्तानलाई दुई विकेटले पराजित गरेको हो । योसँगै अब एशिया कपको फाइनलमा उपाधिका लागि भारत र श्रीलंकाबीच आइतबार प्रतिस्पर्धा हुनेछ । श्रीलंका ११ औं पटक एशिया कपको फाइनलसम्म पुग्न सफल भएको हो ।
बिहीबारको खेलमा पाकिस्तानका कप्तान बाबर आजमले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेका थिए । वर्षाले पटक–पटक अवरोध पुर्याएको यो ४२ ओभरको खेलमा पाकिस्तानी टीमले ७ विकेटको क्षतिमा २५२ रन बनायो ।
पाकिस्तानका लागि मोहम्मद रिजवानले ७३ बलमा ८६ रनको उत्कृष्ट इनिङ खेले । ओपरन अब्दुल्ला शफीकले ५२ तथा इफ्तिखार अहमदले ४७ रन बनाए । रिजवान तथा इफ्खितरले छैटौं विकेटका लागि १०८ रनको महत्वपूर्ण साझेदारी गरे । श्रीलंकाका लागि मथीसा पथिरानाले तीन विकेट लिए ।
यो खेलमा पाकिस्तानले २५२ रन बनाए पनि डिएलएस मेथड अनुसार श्रीलंकाले पनि २५२ रनकै लक्ष्य पाएको थियो । सोही बमोजिम श्रीलंकाले ४२ ओभरमा २५२ रन बनाएर नै विजयी भएको हो । श्रीलंकाले इनिङको अन्तिम बलमा आठौं विकेट गुमाउँदै खेल आफ्नाे पक्षमा पार्यो । श्रीलंकाका लागि कुसल मेन्डिसले ८७ बलमा सबैभन्दा बढी ९१ रन बनाए । चरिथ असलंकाले अविजित ४९ रन बनाए । पाकिस्तानका लागि इफ्तिखार अहदमले तीन तथा शाहीन शाह अफरीदीले दुई विकेट लिए ।