एडेन, यमन । यमनको सरकारी सेनाले तेलको लागि धनी क्षेत्र मानिने देशको उत्तरपूर्वी इलाका मारिबमा हुथी विद्रोही समूहका लडाकुसँग शुक्रबार भीषण भिडन्त गरेको एक सैन्य अधिकारीले बताएका छन् ।
नाम नबताउने शर्तमा स्थानीय सैन्य अधिकारीले भने, “हुथी विद्रोहीले मारिबको हरिब जिल्लामा सरकार नियन्त्रित स्थलमा आक्रमण गरेका थिए । झडपमा चार सैनिकको मृत्यु हुनुका साथै अन्य छ जना घाइते भएका छन् ।”
ती अधिकारीले हुथी समूहतर्फ पनि हताहत भएको तर उनीहरूले घाइते तथा मृतकलाई आफै लगेकोले एकीन सङ्ख्या र अन्य विस्तृत विवरण भने थाहा हुन नसकेको बताए ।
यमनका लागि संयुक्त राष्ट्रसङ्घका दूत हान्स ग्रुन्डबर्गले युद्धरत पक्षलाई अधिकतम संयम अपनाउन आग्रह गरेको दुई दिनपछि मारिबमा सशस्त्र मुठभेड
सुरु भएको हो ।
बुधबार ग्रुन्डबर्गले यमनमा वर्षौंदेखि जारी सैन्य द्वन्द्वको दिगो राजनीतिक समाधान र राष्ट्रव्यापी युद्धविरामका लागि प्रयास गर्न आह्वान गरेका थिए ।
“यमनको समग्र सैन्य अवस्था पछिल्ला महिनाहरूमा तुलनात्मक रूपमा स्थिर रहेको छ । सन् २०२२ को अप्रिल २ मा युद्धविराम लागू भएयता यमनवासीले झण्डै एक वर्षदेखि हिंसाको स्तर कम भएको अनुभव गरेका छन्, तर ‘यो कमजोर छ,” ग्रुन्डबर्गले भने ।
सन् २०१४ को अन्त्यतिर इरान समर्थित हुथी लडाकू समूहले उत्तरी सहरहरूमा आक्रमण गरी साउदी समर्थित यमनी सरकारलाई राजधानी सानाबाट बाहिर निकालेपछि यमन गृहयुद्धमा फसेको छ । सन् २०१५ मा यमन द्वन्द्वमा साउदी नेतृत्वको सैन्य गठबन्धनले यमन सरकारलाई समर्थन गर्न हस्तक्षेप गरेको थियो ।