संसदप्रति अनुदार भएको भन्दै सरकारको आलोचना

74 Shares

काठमाडाैं । प्रतिपक्ष दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद मदनकुमारी साह गरिमा ले संसदप्रति अनुदार भएको भन्दै सरकारको आलोचना गरेकी छन्।

सोमबार राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति को बैठकमा बोल्दै उनले सरकारले आफ्ना सुविधा बढाउने तर सांसदहरूको सुविधा कटौती गरेको आरोप लगाइन्।

सांसद साहका अनुसार संसदलाई प्रभावकारी बनाउनु पर्नेमा वर्तमान सरकारले त्यसलाई कमजोर बनाउने काम गरिरहेको छ। उनले संसदको कार्यक्षमता बढाउन विज्ञहरूको समूह (रोस्टर) आवश्यक रहेको बताउँदै आवश्यक जनशक्ति थप गर्नुपर्नेमा जोड दिइन्।

उनले बाहिर सांसदहरूबारे फैलिएको नकारात्मक धारणा तोड्न पनि संसदले प्रभावकारी रूपमा काम गर्नुपर्ने उल्लेख गरिन्। साथै, संसदलाई प्रभावकारी बनाउन सरकार जिम्मेवार हुनुपर्ने र संसदप्रति उत्तरदायी बन्नुपर्ने आवश्यकता औंल्याइन्।

सांसद साहले सरकारको संसदप्रतिको व्यवहार सधैं अनुदार रहेको भन्दै यसबारे खबरदारी आवश्यक रहेको बताइन्।