प्रधानमन्त्रीद्वारा अत्याधुनिक चलचित्र छायाङ्कन स्टुडियो निर्माणको शिलान्यास घोषणा

320 Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० मा निर्माण हुने ‘सिनेपा’ नामक चलचित्र छायाङ्कन स्टुडियोको मंगलबार आरम्भ उद्घोष गरेका छन् ।

प्रधानमन्त्री निवास, बालुवाटारमा मंगलबार चलचित्र विकास बोर्डद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले स्टुडियो निर्माणको शुभारम्भ गरेका हुन् । ४२ रोपनी जग्गामा निर्माण हुने उक्त स्टुडियो अत्याधुनिक सुविधासम्पन्न छायाङ्कनस्थल हुने बताइएकाे छ ।

देशमा चलचित्र निर्माण सुरु भएको छ दशक पूरा हुँदा पनि सुविधासम्पन्न स्टुडियो निर्माण नभएकामा चलचित्र क्षेत्रमा आबद्ध निर्माता तथा कलाकारले गुनासो गर्दै आएका थिए ।

फिल्म स्टुडियाे इन्डोरमा अस्पताल, प्रहरी चौकी, कारागार, ठूला भवनका भित्री भाग देखिने खालका तथा प्रोटेबल सेटहरू निर्माण हुनेछन् ।

आउटडोरमा नेपाली चलचित्रको इतिहासको अध्ययन गर्नेहरुका लागि चलचित्र म्युजियम, पुस्तकालय, स्क्रिप्ट लेखन तथा निर्देशनकक्ष र स्टुडियोसँगै फिल्मसम्बन्धी गोष्ठी, सेमिनार तथा क्षमता अभिवृद्धिका कार्यक्रम गर्न हलसहितको संरचना निर्माण हुनेछ ।

चलचित्र छायाङ्कन स्टुडियोका लागि भैँसेपाटीको ४३ रोपनी सार्वजनिक जग्गा छनोट गरिएको छ । बहुद्देश्यीय परियोजना भएकाले पहिलो चरणमा इन्डोर छायाङ्कन स्टुडियोको डिपिआर बनाई काम शुरु गरिने बताइएको छ ।