
काठमाडौँ। नेपाली काँग्रेस सांसद विनोद चौधरीले आगामी बजेटमा गर्न सकिने कामहरु मात्र समावेश गर्न सुझाव दिनुभएको छ ।
संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद चौधरीले विगतमा भएका कमजोरीहरुबाट पाठ सिकेर भोलिका दिनमा गर्न सकिने काम मात्र समावेश गरिनुपर्नेमा जोड दिनुभएको हो । उहाँले हरेक पटक बजेट आयो, पुरानै कार्यक्रमहरु राख्यो तर गर्न चाहीँ केही गर्न सकेन भन्ने खालका कार्यक्रमहरु ल्याउनेक्रम रोकिनुपर्नेमा जोड दिनुभयो ।
सांसद चौधरीले जति बोलेको हो त्यति गर्नेगरि बजेट ल्याउनुपर्छ भन्दै हल्का र सस्तो लोकप्रियताका लागि बजेट ल्याउनुभन्दा शतप्रतिशत कार्यान्वयनमा जानेगरि ल्याउनुपर्ने स्पष्ट पार्नुभयो । नीति तथा कार्यक्रममा प्रश्तुत भएका सबै कुरा बजेटमा समावेश गर्नुभन्दा छानेर आफ्नो क्षमता अनुकुलको बजेट बनाउनुपर्नेमा उहाँको जोड थियो । उहाँले नीति तथा कार्यक्रममा समावेश भएका सबै कार्यक्रम समेट्नुपर्छ भन्दा पनि चुनिएका क्षेत्रमा ध्यान केन्द्रित गरेर बजेट ल्याउन सरकारलाई सुझाव दिनुभयो ।
उहाँले साना साना कुरा बजेटमा समेट्नुको कुनै अर्थ नहुने भएकाले हुन सक्ने काम मात्र बजेटमा समावेश गर्नुपर्नेमा जोड दिनुभयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया