दलितमाथिको विभेद अन्त्य गर्न अन्य वर्गले विवेक र चेतना पुर्याउनु पर्छः मन्त्री चौरसिया

67 Shares

काठमाडौँ। कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले विवेक र चेतना पुर्याएर दलितमाथिको विभेद अन्त्य गर्नुपर्ने बताउनुभएको छ।

शुक्रबार ६७ औँ कानून दिवसको अवसरमा दलित लाइभ म्याटरले आयोजना गरेको ‘जस्टिक समिट २०२५’ को समापन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले कानूनी कारबाहीले मात्रै दलितमाथिको विभेद अन्त्य नहुने बताउनु भयो । समाजका अन्य वर्गले समानताको व्यवहार गरे मात्रै जातीय विभेद अन्त्य हुनसक्ने उहाँको भनाइ छ ।  नयाँ संविधान निर्माण भएसँगै छुवाछुत लगायत लैंगिक विभेद अन्त्य गर्न धेरै प्रयास भएपनि निर्मूल पार्न नसकिएको बताउँदै उहाँले संविधानमा उल्लेखित दलित तथा मौलिक अधिकारका बारेमा कानून निर्माण गर्न अध्ययन भइरहेको बताउनु भयो । 

मन्त्री चौरासियाले दलित समुदायसँग सम्बन्धित सवालहरुमा सरकार गम्भीर रहेको बताउनु भयो । सरकारले छुवाछुत र जातीय विभेद अन्त्य गर्न  नीतिगत र कानूनी प्रतिवद्धता व्यक्त गरेको उहाँको भनाइ छ । उहाँले दलितमाथिको विभेद अन्त्य नभइ लोकतान्त्रिक व्यवस्तालाई बलियो बनाउन नसकिने बताउनु भयो ।