सरकारमा जान तँछाडमछाड गरेका छैनौंः देवेन्द्र पौडेल

78 Shares

काठमाडौँ। नेकपा (माओवादी केन्द्र)का सचिव देवेन्द्र पौडेलले सरकारमा जाने कुनै कुरा नरहेको बताउनुभएको छ।

शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकपछि संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारमा जानको लागि आफूहरूले तँछाडमछाड नगरेकोसमेत स्पष्ट पार्नुभयो । यो वर्तमान सरकार जनताको निम्ति नभई आफ्ना मान्छेहरूलाई विभिन्न निकायमा व्यवस्थापन गर्न बनेको आरोप लगाउँदै उहाँले सत्ता गठबन्धनभित्रै एक मत नरहेको टिप्पणी गर्नुभयो । 

सचिव पौडेलले नीति तथा कार्यक्रममा सरकारमै रहेकाहरूले एक स्वरले समर्थन जनाउन नसकेको बताउनु भयो । उहाँले विद्युत प्राधिकरणको विषय र गभर्नर नियुक्तिको कुरामा पनि सत्ता गठबन्धनमा रहेकाहरू एक स्वरले बोल्न नसकेको जिकिर गर्नुभयो । अहिलेसम्म नेपाल राष्ट्र बैङ्कको गभर्नर नियुक्ति गर्न नसक्नु दुःख लाग्दो र अपरिपक्व सरकारको चित्रण रहेको जिकिर गर्नुभयो ।