नेपालमा नयाँ कुष्ठरोगका बिरामी सबैभन्दा बढी मधेस प्रदेशमा

104 Shares

काठमाडौं । नेपालमा सबैभन्दा बढी नयाँ कुष्ठरोगका बिरामीहरु मधेस प्रदेशमा फेला परेका छन् । 

बिहीबार काठमाडौंमा कुष्ठरोगसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले यस्तो जानकारी गराउनुभएको हो । उहाँका अनुसार मधेस, लुम्बिनी र कोशी प्रदेशमा क्रमशः रोगको उच्च भार रहेको छ । मधेस प्रदेशमा कुल केसको एक तिहाईभन्दा बढी रहेका छन् । दोस्रो सबैभन्दा बढी केसहरु लुम्बिनी प्रदेशमा रहेका छन् । जहाँ कुल केसको एक चौथाईभन्दा बढी रोगीहरु रहेको सचिव डा. देवकोटाले बताउनु भयो । 

आर्थिक वर्ष २०८०/०८१ को अन्त्यसम्म नयाँ फेला परेका २ हजार ४ सय ७२ कुष्ठरोगीहरुमध्ये महिलाको संख्या १ हजार ४२ रहेको उहाँले बताउनु भयो । १४ वर्ष मुनिका नयाँ बिरामीको संख्या १ सय ३६ रहेको उहाँको भनाइ छ । सचिव देवकोटाले पहिचान भएका सबै कुष्ठरोगका बिरामीहरु उपचाररत रहेको बताउनु भयो । उहाँका अनुसार कुष्ठरोग निवारणका लागि रोगको प्रकोप दर एक भन्दा कम हुनुपर्छ । 

प्रति १० हजार जनसंख्यामा १ जनाभन्दा कम व्यक्ति रोगी रहेको अवस्था हुनुपर्छ । आर्थिक वर्ष २०८०/०८१ को तथ्यांकलाई विश्लेषण गर्दा कुष्ठरोगको प्रकोपदर राष्ट्रिय तहमा १ भन्दा कम (०.९२ प्रतिशत)  रहेको छ । तर जिल्ला तहको प्रकोप दर हेर्दा ७७ जिल्लामध्ये १८ जिल्लामा १ भन्दामाथि, ४८ जिल्लामा १ भन्दा कम, ११ जिल्लामा कुष्ठरोगका कुनैपनि नयाँ बिरामी फेला परेका छैनन् । मधेस, लुम्बिनी र कोशी प्रदेशमा क्रमशः रोगको उच्च भार रहेको छ ।