यसरी जुर्याे विश्व रेडक्रस दिवसकाे मिति अर्थात् मे-८

423 Shares

Raju sigdel.png

राजु सिग्देल

अन्तर्राष्ट्रिय  रेडक्रस तथा रेडक्रिसेन्ट अभियान भन्नाले रेडक्रसको अन्तर्राष्ट्रिय समिति १९२ देशहरुमा छरिएर रहेको राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरु र रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरुको अन्तर्राष्ट्रिय  महासंघको विश्वब्यापी सञ्जाललाई बुझाउँदछ । यस सञ्जालको लक्ष्य जुनसुकै समय र ठाँउमा घट्ने मानवीय पीडालाई हटाउनु वा कम गर्नु हो । यस अभियानका जन्मदाता जाँ हेनरी ड्युना हुन् । 

अन्तर्राष्ट्रिय  रेडक्रसका संस्थापक जाँ हेनरी ड्युनाको जन्म ८ मे १८२८ का दिन स्विजरल्याण्डको जेनेभामा भएको थियो । उनी वास्तवमा एक ब्यापारी थिए तर उनको हृदयको कुनै एक अन्तरमा मनुष्य समाजको कल्याणको लागि केही गर्ने इच्छा सुषुप्त रहेको थियो जो प्रष्फुटन हुने मौकाको खोजीमा थियो । ब्यापारको सिलसिलामा सन् १८५९ को जुन महिनातिर जाँ हेनरी ड्युना इटालीको सल्फेरिनो पुगेका थिए । त्यसैबेला इटाली, फ्रान्स एवं अष्ट्रियाका सेनाबीच युद्ध चलिरहेको थियो । सो युद्धमा करिव ६ हजार जनाको मृत्यु र ४० हजारभन्दा बढी सैनिकहरु घाइते भएका थिए । 

युद्धको भयानक दृष्य देखेपछि जाँ हेनरी ड्युनाले घाइतेहरुलाई तत्कालै सक्दो सेवा पुर्याए । त्यहाँ कुनै औषधी उपचार वा युद्ध पीडितलाई कुनै सामान्य सहयोग गर्ने राहत सामाग्री थिएन । शायद त्यसैबेला जाँ हेनरी ड्युनाको सुषुप्तरुपमा रहेको परोपकारी भावना जागृत भयो । फलस्वरुप उनले युद्धबाट पीडितहरुलाई तत्काल आपतकालिन सहयोगको ब्यवस्था मिलाउने निधो गरे र मानवले आँटे भगवानले पुर्याउनुहुन्छ भने झैं उनको यस सदिच्छामा नजिकैका वरपरका गाउँलेहरुले पनि सहयोग गरि तत्कालै सक्दो सेवा पुराए । सल्फेरिनोको यस दुःखद दृश्यबाट अत्यन्तै मर्माहित जाँ हेनरी ड्युनाले फ्रान्स भाषामा सल्फेरिनोको सम्झना नामक पुस्तक लेखे जसमा प्रत्येक राष्ट्रमा युद्ध वा अन्य अवस्थामा समेत हुने कुनै घटनाद्वारा पीडितका समस्याहरुलाई कुनै जात, वर्ग वा धर्म सम्प्रदायका आधारमा भेदभाव नगरी रोकथाम गर्ने र युद्ध पीडितसम्बन्धी अन्तर्राष्ट्रिय समझदारीको परिकल्पना पनि ब्यक्त गरे ।

उक्क्त पुस्तक प्रकाशन पश्चात विश्वका चारै दिशाबाट उनको बिचारमा सद्भावना र सहयोगको लहर फैलियो । कसैकसैले यसमा प्रश्न पनि उठाए तर जीत सत्यकै भयो । जाँ हेनरी ड्युनाको परिकल्पनालाई साकार रुप दिन स्विजरल्याण्डका थप चार ब्यक्तिहरु अगाडि सरे । १) गुस्ताफ मोनियर, २) जनरल जी.एच ड्युना ३) डक्टर लुई अप्पिया र ४) डाक्टर थियोडोर मौनिएर लगायत सहयोगीसँग मिलेर जाँ हेनरी ड्युनाले सन् १८६३ मा घाइतेको निमित्त एउटा सहयोगी सगंठनको प्रारुप तयार गरे । 'घाइतेहरुको सहयोगका निम्ती अन्तर्राष्ट्रिय समिति'  (International Committee for Relief to the wounded)  राखियो ।

यसैताका जाँ हेनरी ड्युनाको संस्मरण र तदअनुसारकाे कार्यबाट प्रभावित भएर बिभिन्न देशका राष्ट्र   प्रमुखहरुले पनि उनीप्रति सर्मथन ब्यक्त गरे । फलस्वरुप १८६४ मा केही राष्ट्रका प्रतिनिधिहरुसमेत जम्मा भई स्विजरल्याण्डको जेनेभामा युद्धपीडितसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिसमेत तर्जुमा भयो । त्यसै अवसरमा ड्युनाको सम्मानार्थ उनको मातृभूमि स्विजरल्याण्डको रातो पृष्ठभूमिमा सेतो क्रस भएको अण्डाको सम्झना गर्दै सेतो पृष्ठभूमिमा रातो क्रस भएको प्रतिक चिन्ह रोजेर उनकै परिकल्पना अनुसारको कार्यमा यस चिन्हको प्रयोग प्रारम्भ गरियो ।

यसरी एकातिर जाँ हेनरी ड्युनाको सपना साकार हुँदै गयो भने अर्कोतिर आफ्नो ब्यापार ब्यवसायलाई ध्यान दिन नपाउँदा उनको आर्थिक स्थिति बिग्रँदै गयो । हुँदा हुँदा सन् १८६७ मा उनी न्यून अवस्थामा पुगेका कारण जेनेभा शहरनै छोडी आफ्नो जीवनको उतरार्ध अज्ञात ठाउँमा निर्धकपूर्वक बिताउन थाले । त्यस अवस्थामा आईपुग्दा पनि उनी प्रचार प्रसारबाट अत्यन्त टाढा रहेर स्वयंसेवक समाजसेवी बनेर युद्धबन्दीहरुको सेवा, दास प्रथा उन्मुलन अन्तर्राष्ट्रिय मध्यस्थता मानवीय सेवा कार्यहरुमा लागिरहे र उता सन् १८७६ मा टर्कीले रुससँग भएको युद्धमा रेडक्रस चिन्हहरुको सट्टामा रातो अर्धचन्द्र चिन्हको प्रयोग भयो भने रेडक्रस चिन्ह भनि चिनिने सो प्रतिकलाई आज पनि संसारका प्राय मुस्लिम राष्ट्रहरुले प्रयोग गर्दछन् ।

समय बित्दै गयो जाँ हेनरी ड्युना पनि समाजमा ओझेल पर्दै गए, उनको सपना त साकार भई देश बिदेश १९२ भन्दा बढी राष्ट्रहरुमा तरंग झैं भइरहँदा उनी स्वयं भने धेरैद्वारा बिर्सिएका थिए र सन् १८९५ मा एउटा पत्रिकामा अप्रत्यासितरुपमा जाँ हेनरी ड्युनाको बारेमा अन्तर्वार्तामुलक समाचार छापियो । उनले अज्ञात बास लिएको ठाउँ सबैले थाहा पाए । हराएका महान ब्यक्तित्वको पुनः प्राप्तिले अन्तर्राष्ट्रिय संगठन रेडक्रस तथा स्वयं जाँ हेनरी ड्युनाको योगदानको चर्चा फेरी एकचोटी संसार भरि नै फैलियो । उनको यस चर्चा परिचर्चाको लहर सेलाउन नपाउँदै सन् १९०१ मा शान्तिका लागि पहिलो नोवेल पुरस्कार फेन्च नागरिक फ्रेडोरिक पासेसँग संयुक्तरुपमा उनलाई पनि प्रदान गरियो । यसले जाँ हेनरी ड्युनालाई फेरी एकचोटी केन्द्रीय आकर्षण बनायो ।

विश्व प्रसिद्ध कर्मयोगी जाँ हेनरी ड्युना आफ्नो सम्पूर्ण तनमन र धन नै अर्पण गरेर विशुद्ध समाजसेवा गर्दै ८२ बर्षको उमेरमा यस संसारबाट बिदा भएर गएपनि उनीद्वारा स्थापित रेडक्रसले आफ्ना आधारभूत सात सिद्धान्तहरु मानवता, निष्पक्षता, तटस्थता, स्वाधिनता, ऐच्छिक सेवा, एकता र विश्वब्यापकतालाई शिरोपर गरि विविध गतिविधिहरु सञ्चालन गर्दै आएको छ । उनको जन्म दिन ८ मे लाई सन् १८४८ देखि विश्वभरी विश्व रेडक्रस दिवसको रुपमा मनाइन्छ । अन्तर्राष्ट्रिय समाजसेवी रेडक्रसका संस्थापक जाँ हेनरी ड्युनाको स्मिृतिमा उनको विशिष्ट मानवतावादी भावना र विशाल हृदयको कदरस्वरुप सम्पूर्ण समाजसेवीले निःस्वार्थ सेवा प्रदान गर्नु नै उनीप्रति सच्चा श्रद्धाञ्जली हुनेछ ।

गएका हरेक वर्ष रेडक्रसका जन्मदाता जाँ हेनरी ड्युनाको जन्मदिनको अवसर पारेर मनाइँदै आएको विश्व रेडक्रस दिवस मे ८ यही बैशाख २५ गते बिहीबारका दिन परेको छ । विश्वभर मानव समुदायमा आईपर्ने जुनसुकै खालका बिपद् र संकटमा पनि रेडक्रस तथा रेडक्रिसेन्ट अभियानले अनवरतरुपमा मानवीय सेवा प्रदान गर्दछ भन्ने सन्देश प्रसारणमा थप बल पुर्याउन यस वर्ष विश्वभर मानवताको पक्षमा (On the side of Humanity) भन्ने नाराका साथ दिवस मनाऔं । जय रेडक्रस । (लेखक नेपाल रेडक्रस सोसाइटी काभ्रेपलाञ्चोक जिल्ला शाखाका मन्त्रि हुन् )