
काठमाडौं । गएराति चेन्नई सुपर किंग्ससँग पराजित भएसँगै साविक विजेता कलकता नाइट राइडर्स इन्डियन प्रिमियर लिग (आईपीएल)को यस सिजनको पहिलो चरणबाटै बाहिरिने सम्भावना बढेको छ।
आईपीएलको प्ले अफमा प्रवेश गर्ने सम्भावना कलकताका लागि गणितीयरूपमा बाँकी रहे पनि व्यवहारिकरूपमा लगभग अन्त्य भएको छ । बुधबार इडेन गार्डेनमा भएको खेलमा यसअघि नै पहिलो चरणबाट बाहिरिएको चेन्नईले कलकतालाई दुई विकेटले हराएको हो । कलकताले दिएको १८० रनको लक्ष्य पछ्याएको चेन्नईले दुई बल बाँकी रहँदा ८ विकेटको क्षतिमा १८३ रन जोड्याे ।
६० रनमा ५ विकेट गुमाएको चेन्नईलाई खेलमा फर्काउने क्रममा डेवाल्ड ब्रेसभसले २५ बलमा ५१ रन प्रहार गरे । यसैगरी, उर्भिल पटेलले ११ बलमा ३१ रन प्रहार गरे । शिवं दुवेले ४० बलमा ४५ रन जोडे ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको कलकताले ६ विकेटको क्षतिमा १७९ रन जोडेको थियो । कलकताका लागि कप्तान अजान्के रहानेले ४८, आन्द्रे रसेलले २१ बलमा ३८, मनिस पाण्डेले अविजित रहँदै २८ बलमा २६ तथा सुनिल नारायणले २६ रन जोडे ।
२०० रन भन्दा माथिको आँकडामा अघि बढेको कलकतालाई रोक्ने क्रममा नुर अहमदले चार ओभरमा ३१ रन खर्चेर चार विकेट लिए । कलकता १२ खेलमा ११ अङ्क सहित छैटौँ स्थानमा छ । चेन्नाई भने ६ अङ्कसहित पुछारमा छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया