मण्डनदेउपुरमा नेपाली कांग्रेस पार्टीको इतिहास र वर्तमान अवस्था

701 Shares
  • दीपकप्रसाद पौडेल

बनेपा । राणा शासनको जहानियाँ हुकुमी शासन अन्त्य गरी नेपालमा प्रजातान्त्रिक व्यवस्था स्थापना गर्ने उद्देश्यले वि.सं. २००३ सालमा बी.पी. कोइरालाको नेतृत्वमा भारतीय सहर कलकत्तामा नेपाली राष्ट्रिय कांग्रेस पार्टी स्थापना गरिएको थियो। यसै उद्देश्यले वि.सं. २००५ सालमा सुवर्ण शमशेर राणाको नेतृत्वमा "नेपाल प्रजातन्त्र कांग्रेस" नामक अर्को पार्टी गठन भएको थियो। पछि यी दुई पार्टीहरू एक भई वि.सं. २००६ साल चैत २७ गते नेपाली कांग्रेसको विधिवत स्थापना भयो।

नेपाली कांग्रेस पार्टीले राष्ट्रियता, प्रजातान्त्रिक समाजवादका आदर्श तथा संवैधानिक राजतन्त्र, बहुदलीय प्रजातन्त्र र संसदीय शासन प्रणालीलाई अंगीकार गर्दै न्यायपूर्ण, समावेशी र गतिशील समाज निर्माण गर्ने लक्ष्य राखेको थियो । पार्टीको नेतृत्वमा वि.सं. २००७ सालमा भएको क्रान्तिबाट राणा शासन अन्त्य गरी नेपालमा पहिलो पटक प्रजातान्त्रिक शासन प्रणालीको सुरुवात भएको थियो। तर प्रजातन्त्र स्थायीरूपमा विकास हुन नपाउँदै वि.सं. २०१५ सालको आम निर्वाचनबाट दुईतिहाइ बहुमतसहित गठन भएको बी.पी. कोइरालाको सरकारलाई वि.सं. २०१७ साल पौष १ गते तत्कालीन राजा महेन्द्रले अपदस्थ गरी एकदलीय पञ्चायती व्यवस्था लागू गरे। सो व्यवस्थाविरुद्ध वि.सं. २०४६ सालमा भएको ऐतिहासिक जनआन्दोलनको नेतृत्व पनि नेपाली कांग्रेसले नै गरेको थियो, जसबाट बहुदलीय प्रजातन्त्र पुनःस्थापित भयो ।

पुनःस्थापित संवैधानिक राजतन्त्रसहितको प्रजातन्त्र पनि वि.सं.२०५९ सालमा राजा ज्ञानेन्द्रको शाही कदमबाट समाप्त पारिएको थियो। त्यसपछिको निरङ्कुशताको अन्त्य गर्न नेपाली कांग्रेसको नेतृत्वमा वि.सं. २०६२/०६३ को जनआन्दोलन सञ्चालन गरिएको थियो। उक्त आन्दोलनमा सबै प्रमुख राजनीतिक दलहरूको सहभागितासहित संविधानसभामार्फत संघीय लोकतान्त्रिक गणतन्त्रको सुरुवात गरिएको हो । १०४ वर्ष लामो राणा शासनको अन्त्य, ३० वर्षको पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलन, २०५९ सालको शाही निरङ्कुशताको अन्त्य, र १२ वर्ष लामो माओवादी विद्रोहलाई शान्तिपूर्ण ढंगले व्यवस्थापन गर्दै आजको संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनासम्म पुग्ने क्रममा नेपाली कांग्रेसको योगदान अतुलनीय रह्यो । नेपालका सबै जिल्ला र स्थानीय तहहरूमा पार्टीको सशक्त संगठन फैलिएको छ । यस पार्टीका नेता तथा कार्यकर्ता स्थानीय विकास, निर्माण र सामाजिक सेवामा निरन्तर क्रियाशील रहँदै आएका छन् ।

काभ्रेपलान्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिकामा नेपाली कांग्रेसको इतिहास निकै पुरानो छ। साविक मण्डन चण्डेनीका टङ्कनाथ शास्त्री नेपालले वि.सं. २००६ साल जेठमा नेपाली कांग्रेसका तत्कालीन नेता राजदास वादेबाट पार्टीको सदस्यता लिएको कुरा उहाँको आत्मकथा निष्ठाका नौ दशकमा उल्लेख गरिएको छ। त्यसैगरी, भक्तपुरबाट व्यापारको सिलसिलामा मण्डन चण्डेनीमा बसोबास गर्नुभएका हरिगोपाल धौवडेललाई नेपाली कांग्रेसको संगठन विस्तारको जिम्मेवारी वि.सं. २०११ साल जेठ २६ गते पार्टीका महामन्त्री धनमानसिंह परियारले पत्रमार्फत दिनुभएको थियो। त्यो पत्र अहिले पनि उहाँका परिवारसँग सुरक्षित रहेको छ ।

वि.सं. २०१५ सालको संसदीय निर्वाचनमा निर्वाचन क्षेत्र नं. ८ बाट नेपाली कांग्रेसका उम्मेदवार आशाकाजी वैद्यलाई जिताउन मण्डनदेउपुर क्षेत्रका धेरै कार्यकर्ताहरू सक्रिय भएका थिए । प्रचार-प्रसारका लागि पार्टीका केन्द्रीय नेताहरूसमेत मण्डनदेउपुर आइपुगेका थिए भन्ने कुरा वरिष्ठ कांग्रेस नेताहरूले स्मरण गरेका छन् । वि.सं. २०१६ सालमा गठन भएको नेपाल तरुण दलको काभ्रे जिल्ला समितिमा आशाकाजी वैद्य अध्यक्ष र मण्डन चण्डेनीका पिताम्बर नेपाल उपाध्यक्ष हुनुहुन्थ्यो। उहाँले आफ्नो पुस्तक अथक सेवामा वि.सं. २०१७ सालको काठमाडौँमा सम्पन्न नेपाल तरुण दलको राष्ट्रिय अधिवेशनमा मण्डन क्षेत्रका युवाहरूको सहभागिता रहेको उल्लेख गर्नुभएको छ।

WhatsApp Image 2025-05-04 at 20.50.01.jpeg

वि.सं. २०१७ सालमा राजा महेन्द्रले जननिर्वाचित सरकार अपदस्त गरी पञ्चायती व्यवस्था लागू गरेपछि पार्टी गतिविधिमा रोक लगाइयो। यसले गर्दा मण्डन क्षेत्रमा पनि नेपाली कांग्रेसको गतिविधि भूमिगतरूपमा जारी रह्यो। कठिन परिस्थितिमा केही कार्यकर्ताहरू प्रवासमा थिए भने केही गुप्तरूपमा पार्टी विस्तारमा क्रियाशील थिए। गाउँ पञ्चायत निर्वाचनमा भाग लिई जनतासँग निरन्तर सम्पर्क राखे प्रयाससमेत गरिएको थियो। त्यस समयमा विद्यार्थीहरू नेपाल विद्यार्थी संघमार्फत प्रजातन्त्रको पक्षमा आवाज उठाउँथे ।

 वि.सं. २०४६ सालको जनआन्दोलनको बेला मण्डनदेउपुरमा पनि कांग्रेसका गतिविधिहरू बढेका थिए। आन्दोलन सफल भएपछि ३० वर्षपछि बहुदलीय प्रजातन्त्र पुनःस्थापना भयो र गाउँ-गाउँमा विजय र्याली र उत्सव मनाइयो। वि.सं. २०४७ साल वैशाख १२ गते कुन्ताबेसीमा आयोजित संयुक्त विजय सभामा नेपाली कांग्रेसका तर्फबाट नयाँगाउँका सानु पाल्साङ लामाले सम्बोधन गर्नुभएको थियो । वि.सं. २०४७ वैशाख १८ गते महादेवस्थानका युवाहरूको पहलमा कांग्रेस समर्थकहरूको भेला गरी महादेवस्थान गाउँ समितिको गठन भयो । त्यसपछि अन्य गाविसहरू ' नाल्दुम, नयाँगाउँ, गैरीबिसौना, देउपुर, चण्डेनी मण्डन, जैसिथोक र ज्याम्दी मण्डनमा पनि समितिहरू गठन गरेर सदस्यता विस्तार युद्धस्तरमा गरियो । वि.सं. २०४७ पुस महिनासम्म मण्डनदेउपुर, पाँचखाल, अनेकोट, देविटार लगायतका १० गाविसमा कांग्रेसका गाउँ समितिहरू गठन गरिए । माघ १९ गते तत्कालीन केन्द्रिय महामन्त्री गिरिजाप्रसाद कोइरालाको उपस्थितिमा केन्द्रिय नेताहरूसहित भव्य आमसभा सम्पन्न भयो। हजारौं जनताको सहभागिताले मण्डनदेउपुरमा कांग्रेसको संगठन अझ सुदृढ भयो।


वि.सं. २०४८ सालको संसदीय निर्वाचनमा मण्डनदेउपुर दुई निर्वाचन क्षेत्रमा विभाजन भएको थियो । देउपुरतर्फका गाविसहरू क्षेत्र नं. ३ मा, मण्डनतर्फका गाविसहरू क्षेत्र नं. ४ मा पर्थे, उम्मेदवार बनेपाका गोपालदास वादे श्रेष्ठ (क्षेत्र ३) र खरेलथोकका राजेन्द्र खरेल (क्षेत्र ४) भएपनि दुवैले विजय हासिल गर्न सकेनन् । यद्यपि मण्डनदेउपुर क्षेत्रबाट राम्रो मत प्राप्त गर्न सफल भएका थिए । देशभर नेपाली कांग्रेस पार्टीको लोकप्रियता र सदस्यहरूद्वारा जनमानसमा पारिएको सकारात्मक प्रभावको कारण कम्युनिष्टहरूको गढ मानिएको मण्डनदेउपुर क्षेत्रमा पनि बहुदलीय प्रजातन्त्रको पुनःस्थापनापछि वि.सं. २०४९ को स्थानीय निर्वाचनमा नेपाली कांग्रेसले बहुमतका साथ अधिकांश गाउँ विकास समितिहरूमा विजय हासिल गरेको थियो ।

WhatsApp Image 2025-05-04 at 20.51.36.jpeg

महादेवस्थान गा.वि.स.मा अध्यक्ष, उपाध्यक्षसहित बहुमत वडामा, गैरीविसौना देउपुर गा.वि.स.मा अध्यक्ष, उपाध्यक्षसहित बहुमत वडामा, जैशिथोक गा.वि.स.मा अध्यक्ष, उपाध्यक्षसहित बहुमत वडामा, वालुवापाटी नाल्दुम गा.वि.स.मा उपाध्यक्षसहित केही वडामा, नयाँगाउँ गा.वि.स.मा ६ वटा वडामा र चण्डेनी गा.वि.स.मा अध्यक्षसहित केही वडामा नेपाली कांग्रेस विजयी भएको थियो। ज्याम्दी गा.वि.स.मा पनि नेपाली कांग्रेसले ४ वटा वडामा जित हासिल गरेको थियो। २०४९ सालमा भएको जिल्ला विकास समिति (जिविस) निर्वाचनमा दुबै इलाका सदस्य पदमा नेपाली काँग्रेसका उम्मेदवारहरू विजयी भएका थिए।

काभ्रेपलाञ्चोक क्षेत्र नं. ३ मा २०५१ सालको निर्वाचनमा नेपाली काँग्रेसका विष्णु हुमागाईं उम्मेदवार बनेका थिए । त्यसपछि २०५६ सालमा शिवप्रसाद हुमागाईं उम्मेदवार भई विजयी भए । तर, २०६४ सालको संविधानसभा निर्वाचनमा उनले पराजय भोग्नुपर्यो। २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा यसै क्षेत्रबाट नेपाली काँग्रेसका कञ्चनचन्द्र वादे विजयी भए। त्यसपछि उनी उद्याेग राज्यमन्त्री भएका थिए ।  संविधान जारी भएपछि भएको २०७४ सालको संघीय संसद निर्वाचनमा काँग्रेसका मधुप्रसाद आचार्य र २०७९ मा शिवप्रसाद हुमागाईं उम्मेदवार बने पनि दुबैजना प्रतिस्पर्धात्मक मतान्तरसहित पराजित भए। 

यसैबीच, क्षेत्र नं. ४ मा २०४८, २०५१, २०५६ र २०६४ सालमा राजेन्द्र खरेल नेपाली काँग्रेसका उम्मेदवार बनेका थिए। ती मध्ये २०५६ सालको निर्वाचनमा उनी विजयी भए । त्यसपछिकाे सरकारमा उनी महिला बालबालिका तथा शिक्षा राज्यमन्त्री बनेका थिए । २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा कुमार लामिछाने काँग्रेसका उम्मेदवार भए, तर सानो मतान्तरले पराजित हुनुपर्यो । २०७४ सालमा प्रदेशसभा निर्वाचनका क्रममा सुन्दरमणि आचार्य र कञ्चनचन्द्र वादे प्रदेशसभा सदस्यका लागि काँग्रेसबाट उम्मेदवार बनेका थिए, तर दुवैजना विजयी हुन सकेनन् । अन्ततः पछिल्लो २०७९ सालको प्रदेशसभा निर्वाचनमा कञ्चनचन्द्र वादे प्रदेशसभा ख बाट विजयी बन्न सफल भए। यी सबै निर्वाचनमा मण्डनदेउपुर क्षेत्रले नेपाली काँग्रेसलाई निरन्तर सक्रिय समर्थन र योगदान पुऱ्याउँदै आएको देखिन्छ । तर अहिलेसम्म  संसद र संविधानसभा निर्वाचनमा मण्डनदेउपुरबाट नेपाली काङ्ग्रेसले उम्मेदवार उठाएकाे छैन । 

congress.jpeg

वि.सं. २०५४ को स्थानीय निर्वाचनमा भने नेपाली कांग्रेसले मण्डनदेउपुरमा सीमित स्थानहरूमा मात्र विजय हासिल गर्न सके पनि उल्लेख्य प्रतिस्पर्धी मत प्राप्त गरेको थियो । वि.सं. २०५१ र २०५६ को संसदीय निर्वाचन तथा २०६४ र २०७० को संविधानसभा निर्वाचनहरूमा पनि नेपाली कांग्रेसले मण्डनदेउपुर क्षेत्रबाट सम्मानजनक मत प्राप्त गरेको थियो । यद्यपि स्थानीय नेताहरूलाई उम्मेदवार बनाउने अवसर भने प्राप्त भएन । २०७० को संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसका नेता कञ्चनचन्द्र वादेले विजय भएका थिए । संघीय गणतन्त्र नेपालको संविधान अनुसार मण्डनदेउपुर काभ्रेपलाञ्चोक जिल्ला अन्तर्गत संघीय निर्वाचन क्षेत्र नं. २ मा पर्दछ, भने प्रदेशसभा निर्वाचनका लागि मण्डन र देउपुर छुट्टाछुट्टै प्रदेश निर्वाचन क्षेत्रमा परेका छन् । संविधान जारी भएपश्चात् भएका संघीय र प्रदेश दुबै निर्वाचनमा पनि दुर्भाग्यवश नेपाली कांग्रेसले मण्डनदेउपुरबाट स्थानीय नेताहरूलाई उम्मेदवार बनाउन सकेको छैन ।

वि.सं. २०५८ मा संसद् विघटन र पछि २०५९ मा राजा ज्ञानेन्द्रले प्रत्यक्ष शासन आरम्भ गरेपछि उत्पन्न भएको प्रतिगमनविरुद्धको २०६२/६३ को जनआन्दोलनमा मण्डनदेउपुरका धेरै नेपाली कांग्रेसका नेता, कार्यकर्ता र शुभेच्छुकहरूले सक्रिय सहभागिता जनाएका थिए। धेरैजना पक्राउ परी हिरासतमा समेत परेका थिए । यस आन्दोलनमा मण्डनदेउपुरबाट दीपकप्रसाद पौडेल, केशव तिमल्सिना, भोला नेपाल, माधव ढकाल, केशव न्यौपाने लगायत नेपाली कांग्रेसका नेताहरुलाई पक्राउ गरी थुनामा राखिएको थियो । संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि भएको संघर्षमा मण्डनदेउपुर नेपाली कांग्रेसको योगदान उल्लेखनीय रहेको छ।

२०७३ साल फागुन २७ गते महादेवस्थान, चण्डेनी, जैशिथोक, गैरीविसौना, नयाँगाउँ, वालुवापाटी नाल्दुम र ज्याम्दी लगायतका साविकका ७ वटा गा.वि.स.का भागहरूलाई समेटेर मण्डनदेउपुर नगरपालिका घोषणा गरिएको थियो। हाल मण्डनदेउपुर नगरपालिकामा नेपाली कांग्रेस प्रमुख पार्टीको रूपमा सक्रिय रहँदै आएको छ। नगरमा करिब २ हजार ३०० क्रियाशील सदस्यहरू रहेका छन् । साथै टोल विकास समिति, वडा कार्यसमिति र नगर कार्यसमितिमा सयौं व्यक्ति सक्रिय जिम्मेवारीमा छन्। 

यही नगरबाट नेपाली कांग्रेस जिल्ला कार्य समिति, काभ्रेपलाञ्चोकमा दर्जनौं नेताहरूले रचनात्मक प्रतिनिधित्व गरिसकेका छन् । नगरपालिका घोषणा भएपछिको पहिलो नगर कार्यसमितिको सभापति रामहरि सापकोटा र हाल कश्यपप्रसाद पौडेल नेपाली कांग्रेस नगर कार्यसमितिको सभापति रहनु भएको छ । अच्युतप्रसाद पौडेल, ठाकुरप्रसाद न्यौपाने, इन्द्रबहादुर तामाङ, स्व. जयबहादुर तामाङ, लिलाकुमारी नेपाल, भोला नेपाल, चन्द्र ढकाल, दिल लामा, जानुका नेपाल लगायतका नेताहरू पार्टीको महासमिति-महाधिवेशन प्रतिनिधि भइसकेका छन् । भातृ संस्थाहरूमा पनि नगरका नेताहरूले सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्' जसमा नेपाल किसान संघमा दीपकप्रसाद पौडेल, गोविन्द पराजुली, नेपाल विद्यार्थी संघमा माधव ढकाल, भोला नेपाल, नेपाल महिला संघमा लिलाकुमारी नेपाल, र नेपाल तरुण दलमा कमल तामाङ र दिल लामाहरुले उल्लेखनीय भूमिका निर्वाह गरेका छन्। यद्यपी क्षेत्रीय र जिल्ला समितिमा मण्डनदेउपुरका नेताहरूको सक्रिय उपस्थिति रहँदै आएको भए तापनि अझैसम्म प्रदेश कार्यसमिति वा केन्द्रीय कार्यसमितिमा प्रतिनिधित्व गर्ने अवसर प्राप्त भएको छैन ।

स्थानीय तथा संसदीय हरेक निर्वाचनमा मण्डनदेउपुरका जनताहरूको साथ, समर्थन नेपाली कांग्रेसप्रति सुदृढ देखिएको छ । मण्डनदेउपुरमा स्थानीय निर्वाचन २०७४ को प्रमुख प्रतिस्पर्धीका रुपमा रहेको नेपाली कांग्रेस पार्टीले ४ वटा वडाहरुमा मात्र विजय हासिल गरेको थियो । पछिल्लो स्थानीय निर्वाचन वि.सं. २०७९ अनुसार नेपाली कांग्रेस मण्डनदेउपुर नगरपालिकाको प्रमुख पार्टीको रूपमा स्थापित भएको छ । यस निर्वाचनमा गठबन्धनको कारण नगर प्रमुख पदमा कांग्रेसले उम्मेदवारी नदिए पनि उप-प्रमुख विष्णुमणि नेपाल, ७ वटा वडाका वडा अध्यक्षसहित बहुमत नगरसभा सदस्यहरू नेपाली कांग्रेसबाट विजयी भएका छन् ।