स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता दिन ४० अर्ब बजेट आवश्यक पर्छः  स्वास्थ्यमन्त्री

308 Shares

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता दिन आगामी आर्थिक वर्षको बजेटमा कम्तीमा ४० अर्ब रुपैयाँ विनियोजन गर्न आवश्यक रहेको बताउनुभएको छ ।

आगामी आर्थिक वर्षको बजेटबारे सोमबार प्रदेश सरकारहरूसँगको छलफलमा मन्त्री पौडेलले यस्तो बताउनुभएको हो । उहाँले गत आर्थिक वर्षमा साढे सात अर्ब रुपैयाँ मात्र बजेट छुट्याइएपनि त्यो प्रयाप्त नभएको बताउनु भयो । उहाँका अनुसार त्यतिबेला अस्पतालहरूले बीमा बोर्डबाट पाउनुपर्ने वक्यौता मात्रै १६ अर्ब रुपैयाँ रहेको थियो । उहाँले वक्यौता तिर्नेगरी बजेट विनियोजन नहुने हो भने  बीमा कसरी चल्छ ? भन्दै प्रश्न गर्नुभयो । 

चालु आर्थिक वर्षमा महिनाको औसत खर्च २ अर्ब रुपैयाँको दरले १२ महिनाको २४ अर्ब खर्च हुने अनुमान रहेको बताउनु भयो । गत वर्षको बाँकी १३ अर्ब रुपैयाँ वक्यौतासमेत समावेश गर्दा कुल ३७ अर्ब पुग्ने उल्लेख गर्दै मन्त्री पौडेलले बीमा बोर्डको सञ्चालन खर्च पनि जोडेर कुल ४० अर्ब रुपैयाँ आवश्यक पर्ने स्पष्ट पार्नुभयो । 

सरकारको लगानी र नागरिकको योगदानबाट बीमा बोर्ड चलाउनुपर्ने उहाँको भनाइ छ । उहाँले योगदान नागरिक कोषलाई दिने र उपचार सेवा बीमा बोर्डबाट लिने मोडल उचित नहुने उल्लेख गर्नुभयो ।